सीता-राम विवाह पञ्चमी : जानकी मन्दिर क्षेत्रमा अत्यधिक भीड, ट्राफिक व्यवस्थापनमा सकस
जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन ठूलो संख्यामा श्रद्धालु, भक्तजन र साधुसन्त जनकपुरधाम आएका छन् ।
मन्दिर क्षेत्रमा अत्यधिक भीडभाड भएकाले त्यसतर्फ ट्राफिक प्रहरीले कुनै सवारीसाधनलाई जान दिएका छैनन् । ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा ट्राफिक र नेपाल प्रहरी परिचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले बाहिरबाट आउने सवारीसाधनहरुका लागि निश्चित ठाउँ तोकेको छ ।
पूर्व तीनकोरियाबाट कपिलेश्वरतर्फ आउने यात्रुवाहक बसहरूलाई कपिलेश्वर चौकीको फुटबल ग्राउन्डमा पार्किङस्थल तोकिएको छ ।
यस्तै यदुकुवाबाट पुलचोकतर्फ आउने यात्रुवाहक बस पुलचोक बसपार्कमा, पश्चिमबाट आउने यात्रुवाहक बस बालुवा चौकीको छेउमा र कुर्थातर्फबाट आउने सवारीसाधनहरूलाई आँखा अस्पताल एरियामा पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै दक्षिण (जलेश्वर)बाट आउने सवारीसाधनहरू नयाँ बसपार्कभित्र वा जिल्ला ट्राफिक कार्यालयको पछाडि रहेको ग्राउन्डमा र जटहीबाट आउने चारपाङ्गे सवारीसाधनहरू कुवा बजारमा वा मधेश प्रदेशसभाको छेउको ग्राउन्डमा पार्किङ गर्न ट्राफिक प्रहरीले सूचना जारी गरेको छ ।
जटहीबाट आउने चारपाङ्गे सवारीसाधनहरू हनुमाननगरको सिक्स लेनमा पनि पार्किङ गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै उत्तर ढल्केबरतर्फबाट आउँदा मुजेलियाको कर्भड हलमा सवारीसाधनहरु पार्किङ गर्न भनिएको छ ।