यसरी भयो भगवान श्रीराम र माता सीताको स्वयंवर, उर्लिए लाखौं श्रद्धालु र साधुसन्त (भिडिओ) – Nepal Press

यसरी भयो भगवान श्रीराम र माता सीताको स्वयंवर, उर्लिए लाखौं श्रद्धालु र साधुसन्त (भिडिओ)

जनकपुरधाम । सीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत आज जनकपुरधामको रंगभूमि मैदानमा माता सीता र भगवान श्रीरामको स्वयंवर कार्यक्रम सम्पन्न भएको छ ।

राममन्दिर र जानकी मन्दिरबाट बाजागाजा र झाँकीसहित विशेष सुसज्जितडोला निकाली रङ्गभूमि मैदानमा पुगेर स्वयंवर कार्यक्रम गरिएको हो ।

श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलाबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरे । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ ।

स्वयंवर समारोह चलिरहँदा हेलिकप्टरबाट फूल बर्साएकाे थियाे । स्वयंवर हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिएका छन् । गाउँ गाउँबाट बाजागाजासहित आएको झाकी पनि स्वयंवर समारोहमा छन् । भजन-कीर्तन गर्ने सयौं समूह छन् ।

विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु जनकपुरधाम आएका छन् । यसवर्ष भगवान श्रीरामको जन्मभूमि अयोध्याबाट जन्ती समेत आएको छ ।

अब रंगभूमिबाट भगवान श्रीराम र माता सीताको डोलालाई नगर परिक्रमा पश्चात पुनः मन्दिर लगिनेछ । उर्लिएका लाखौं श्रद्धालु र साधुसन्तको सुरक्षाका लागि २ हजार पाँच सय सुरक्षाकर्मी परिचालन भएका छन् ।

जानकी मन्दिरमा आज साँझ मिथिला संस्कृतिअनुसार सीता-रामको विवाह सम्पन्न हुन्छ । यसअघि नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव र मटकोर सम्पन्न भइसकेको छ ।

राति विवाह सम्पन्न भएपछि भोलि जानकी मन्दिरमा रामकलेवाको आयोजना हुन्छ । अयोध्याबाट आएको जन्ती र साधुसन्तलाई ५६ व्यञ्जनको भोजन र दान दक्षिणासहित बिदाइ गर्ने चलन छ । यसलाई रामकलेवा भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *