सामाजिक सञ्जालबाट सञ्चारकर्मीलाई धम्क्याएका हर्क साम्पाङविरुद्ध पत्रकार महासंघ प्रहरीमा – Nepal Press

सामाजिक सञ्जालबाट सञ्चारकर्मीलाई धम्क्याएका हर्क साम्पाङविरुद्ध पत्रकार महासंघ प्रहरीमा

विराटनगर । थिति र विधि विपरित काम गर्दै आएका धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।

पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले उजुरी भने दर्ता गरेको छैन ।

दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए ।

उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए ।उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन् ।

उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरू लेखक राईसहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।

दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सो समाचार हिमालखबर डटकममा मङ्सिर १४ गते प्रकाशित भएको थियो ।

सोही समाचारप्रति लक्षित गर्दै प्रमुख साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।

युट्युबर भेला पारेर अदालतलाई चुनौती

समाचार लेखेका पत्रकारलाई चिया पसलमा हाजिर हुन धम्की दिएका साम्पाङले बिहीबार पत्रकार सम्मेलन गरेर अदालतलाई समेत चुनौती दिएका छन् ।

उनले आफूले राम्रो काम गर्न खोज्दा पनि अदालत र प्रहरीले भाँजो हालेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘कानुन हामीले बनाउने हो । जनताले छानेको प्रतिनिधि म हो । हामीलाई चाहिने कानुन मैले बनाउने हो । के को कानुन ?’

उनले उप मेयरले आफूलाई शुभ यात्रा समेत नभनेकाले वडाध्यक्षलाई कार्यवाहक मेयर दिएको बताए । उनले पत्रकार सम्मेलनमा भने, ‘शुभ यात्रा भन्न पर्दैन ? शुभ यात्रा समेत नभन्नेलाई के को कार्यवाहक ।’

मेयर साम्पाङले तिहार छेका बेलायत भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएका थिए ।

उनले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उपमेयर आइन्द्र विक्रम बेघा उच्च अदालत रिट लिएर गएका थिए । बेघाको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सो विषयमा समेत साम्पाङले आक्रोश व्यक्त गरेका छन् । युटुबरहरु भेला पारेर मेयर साम्पाङले पत्रकारहरूलाई तथानाम गाली समेत गरेका छन् । उनले पत्रकार र अदालतलाई गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


प्रतिक्रिया

2 thoughts on “सामाजिक सञ्जालबाट सञ्चारकर्मीलाई धम्क्याएका हर्क साम्पाङविरुद्ध पत्रकार महासंघ प्रहरीमा

  1. आरोप मात्र लगाउने सत्य तथ्य नबुझ्ने यो कस्तो खाले पत्रकारिता हो ? अनि सुनेको भरमा समचार सम्प्रेषण गरेको हो भने आरोपित जो कोहीले बोलाइ सकेपछि सत्य के हो त्यो पनि आउन सक्छ भन्ने सच्चा दिमाग मा हुन पर्दैन । कि पत्रकार लेखेका सबै १००% हो सबैले बुझिदिनु पर्ने हो ।

  2. He is Mayor Humdinger!! सत्ता पाएपछी नशा चढ्छ भन्थे, हो र’छ । यसलाइ सिस्नुपानी हान धराने जनता हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *