सांस्कृतिक संरक्षणका लागि पुस्तान्तरणको बहसः यसो भन्छन् मगर अगुवाहरु(भिडियो)
रुपन्देही । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले मातृ भाषा र सँस्कृतिको संरक्षणमा जातीय एकता आवश्यक रहेको बताइन् । मुलुकको परिवर्तनहरुमा मगर समुदायले खेलेको भूमिकाबारे चर्चा गर्दै रानाले अब आफ्नो पहिचान खोज्नुपर्ने बेला आएको उल्लेख गरिन् ।
बुटवलमा शुक्रबारबाट शुरु भएको मगर साहित्य महोत्सवमा उनले आफ्नो धरातललाई भुल्न नहुने उल्लेख गर्दै सबै जातजाति, धर्म–सँस्कृति, परम्परा तथा राजनीतिक विचारलाई सम्मानले मात्र एकता र समृद्धि सम्भव भएकोमा जोड दिइन् ।
नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ डा बुंद रानाले मगर भाषाको इतिहास संरक्षण र नयाँ पुस्तालाई यसबारे जानकारी दिन यस्ता महोत्सव आवश्यक रहेको बताए ।
उनीहरुले महोत्सवबाट आएका अवधारणालाई संस्थागत रुपमा प्रकाशन गरेर सार्वजनिक अध्ययन गर्ने सम्पत्तिको रुपमा राखिने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज थापा लगायतले मातृ भाषा सँस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
शुक्रबारदेखि शुरु भएको महोत्सवमा पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शन, मातृ भाषामा कविता बाचन प्रतियोगिता, पुस्तक विमोचनलगायतका कार्यक्रम सम्पन्न गरिएको महोत्सव आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।
नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा भएको महोत्सवको पहिलो दिन ‘एक पत्रकारको वकपत्र’ पुस्तकबारे लेखक वरिष्ठ पत्रकार खिध्वज थापासँग साहित्यकार गिरी श्रीसले सहजीकरण गरेका थिए । यसैगरी कविता प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो भने ३ वटा पुस्तक विमोचन गरिएको प्रवक्ता गाहाले जानकारी दिए । महोत्सवमा मानवशास्त्री डा। सुरेश ढकालले ‘भेजा प्रथा: मगर जातिको संगठन र अर्थ सशक्तिकरणको अनुपम दर्शन’ विषयमा प्रस्तुती दिएका थिए ।
यस्तै ‘मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा डा। विष्णु सिंजाली, भाषविद कर्ण बहादुर बुढा, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी र सुनछहारी गाउँपालिका अध्यक्ष धनबहादुर पुनसँग सहजकर्ता पत्रकार स्याम रानाले प्यानल डिस्कशन गरेका थिए ।
मगर जातिमा झाँक्री प्रथाका विषयमा गोपाल आचार्यले तयार पारेको ‘आखत’ भन्ने वृत्तचित्र प्रस्तुत गर्नुका साथै यस विषयमा छलफल गरिएको महोत्सव प्रचार समितिका संयोजक यम रानाले जानकारी दिए । शनिबारसम्म सञ्चालन हुने मेहोत्सवमा थप प्यानल डिस्कशन तथा साँस्कृतिक कार्यक्रमरु समेत आयोजना हुने महोत्सव व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् ।
उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको महोत्सवलाई पूर्व सभामुख ओनसरी घर्तीमगरले समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिइन् ।
मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् ।
महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् । बुटवलको जितगढी किल्लामा आयोजित महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशनका कार्यक्रम रहेका छन् ।