लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन तथा पूजा (तस्विरहरु)
रुपन्देही । बुद्व जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै शनिबार दीप प्रज्ज्वलन तथा पूजा गरिएको छ । प्रसिद्ध बौद्ध धर्मगुरू क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायादेवी मन्दिरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका हुन् ।
दीप प्रज्ज्वलनपश्चात् भएको कार्यक्रममा बोल्दै रिन्पोछेले लुम्बिनीबाट विश्व शान्तिको प्रयास गर्नुपर्ने बताए ।
रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले भगवान बुद्वको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गरे ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थान बोधगया, सर्वप्रथम धर्मदेशना गरेको स्थान सारनाथ र महापरिनिर्वाण भएको स्थान कुसीनगरलाई महत्वपूर्ण स्थान बताएको उल्लेख गर्दै उनले जीवनमा एक पटक सबैले लुम्बिनी आउनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीमा धर्मगुरू आउनु सुखद भएको बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पूजा पुनः सञ्चालन भएकोमा खुसी व्यक्त गरिन् ।
उक्त अवसरमा रिपोन्छेलाई लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य र कार्यकारिणी सदस्य श्याम रोक्काले स्वागत गरेका थिए । शाक्य मोन्लम पूजाको पूर्वसन्ध्यामा विश्व शान्तिको कामनासहित दीप प्रज्ज्वलन गरिएको कार्यकारिणी सदस्य रोक्काले जानकारी दिए ।
शाक्य मोन्लम पूजा आइतबार बिहान सुरु हुनेछ ।