एभरेस्ट बेसक्याम्प घुमेर भारत फर्किए शिखर धवन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन आज स्वदेश फर्किएका छन् । फर्किनुअघि उनी आजै एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए ।
शिखर आवद्ध कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए । त्यहाँ उनले केही घन्टा बिताएर तस्विरहरु खिचे । फर्किएर होटलमा आएपछि धवनलाई फ्रेन्चाइजले औपचारिक विदाइ गरेको थियो ।
बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट धवन भारत गएका छन् । उनले एनपीएलका चारवटा म्याच खेले । एनपीएलमा सहभागी उनी सबैभन्दा चर्चित विदेशी अनुहार थिए ।
धवनले मार्चमा फेरि नेपाल घुम्न आउने बताएका छन् ।