चितवनमा रविका दुई दिन: मध्यरातमा बल प्रयोगको चेतावनीपछि प्रहरीको गाडीमा चढे – Nepal Press

चितवनमा रविका दुई दिन: मध्यरातमा बल प्रयोगको चेतावनीपछि प्रहरीको गाडीमा चढे

चितवनका प्रहरी प्रमुखको भूमिकामा उठ्यो प्रश्न, प्रदर्शनकारीलाई उत्तेजित बनाएर भीड नियन्त्रणको जस लिन खोजेको आरोप

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीबाट अमानवीय व्यवहार भएको आरोप लगाउँदै आएको छ । शारीरिक अवस्था ठीक नहुँदा पनि चितवनबाट मध्यरातमा जबरजस्ती पोखरा लगिएको भन्दै रास्वपाका नेताहरुले विरोध जनाइरहेका छन् ।

रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र पठाएर यस विषयमा छानबिनको माग गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि रविका आलोचकका रुपमा चिनिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले समेत उनलाई हिरासतमा गएर भेटे । उनीहरुले पनि रविमाथि सरकारले प्रतिशोधपूर्ण र मानवताविरोधी व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

चितवनमा यसअघि रवि लामिछाने समर्थकको प्रदर्शनमा प्रधानमन्त्रीको पुत्ला दहन रोक्न नसकेको भन्दै सरकारले प्रहरी प्रमुख र सीडीओको सरुवा गरेको थियो । त्यसपछि हालका प्रहरी प्रमुख एसपी गौतम मिश्र र प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई चितवन पठाइएको हो ।

विवाद बढेपछि चितवन प्रहरीले लामिछानेमाथि कुनै पनि अमानवीय व्यवहार नगरिएको भन्दै सार्वजनिक प्रष्टीकरण दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालले विज्ञप्ति जारी गर्दै नेपालको कानूनअनुसार सुरक्षा सतर्कता अपनाएर चितवनबाट पोखरा पुर्‍याइएको दाबी गरेका छन् ।

चितवनमा रविका दुई दिन

मंगलबार काठमाडौंबाट पहिलो उडानमा चितवन ल्याइएका लामिछानेलाई त्यसै दिन दुई घण्टा बयान गराइएको थियो । भोलिपल्ट मंसिर १९ गते बुधबार बिहान ८ बजे नै उनलाई बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो ।

रविलाई सोध्न अनुसन्धान अधिकृतले ७० र पछि थप ४ गरी ७४ वटा प्रश्न तयार पारेका थिए । अनुसन्धानका क्रममा कुनै पनि प्रश्नको ‘जवाफ दिन्न’ भन्न पनि पाइन्छ, तर लामिछानेले सबै प्रश्नको जवाफ दिए । अघिल्लो दिन २५ वटामात्रै प्रश्नको जवाफ लेख्न भ्याइएपछि भोलिपल्ट बाँकी प्रश्न सोध्ने काम भयो ।

बिहानै सरकारी वकिलको कार्यालय पुर्‍याइएको कारण बिहानको खाना र बेलुकाको खानासमेत बयान कक्षमै व्यवस्था गरिएको थियो । लामिछानेले तीन जिल्लामा गरिएकोमध्ये चितवनको बयान प्रक्रिया सहज भएको बताएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ ।

स्रोतका अनुसार प्रश्नको एक प्रति उनको टेबलमा नै राखिएको थियो । एउटा प्रश्नको जवाफ सकिएपछि उनी स्वयं अर्को प्रश्नमा जान्थे । बीचमा केही क्रस गर्नुपरेमात्रै अनुसन्धान अधिकृतले प्रश्न गर्थे । आधा-आधा घण्टामा चिया पिउँदै बयान टुंग्याएका थिए उनले ।

लामिछानेको जवाफ ३९ पेजमा टाइप गरेर प्रमाणित गरेरसमेत सकिँदा बेलुकाको ८ बजिसकेको थियो । ८ बजे बयानको प्रक्रिया सकिए पनि केहीबेर भलाकुसारीपछि सरकारी वकिलको कार्यालयबाट उनलाई प्रहरी कार्यालय पठाउँदा रातको करिब ९ बजेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले नेपालप्रेसलाई जानकारी दिए ।

लामिछानेको बयान चलिरहँदा बाहिर प्रदर्शन चर्किएको थियो । रास्वपा कार्यकर्ताबाट ढुंगा प्रहार भयो भने प्रहरीले पानीको फोहरा, अश्रुग्याँससमेत हान्यो । बयानका क्रममा एक-दुई पटक बाहिरको वातावरणबारे सोधे पनि उनलाई यस विषयमा अनुसन्धान अधिकृतले केही बताएका थिएनन् ।

रविलाई जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउ पुर्जी जारी गरिसकेको थियो । यसबारे उनी जानकार थिए ।

‘उहाँले यतैबाट वीरगञ्ज गएर पोखरा फर्किन पाए हुन्थ्यो भन्नुभएको थियो’, स्रोतले नेपालप्रेससँग भन्यो, ‘तर हामीलाई राति नै पोखरा पठाउने गरी बयान सकाउन भनिएको थियो ।’

प्रहरीले दिउँसोको प्रदर्शनपछि राति नै स्थानान्तरण गर्ने तयारी गरेको भए पनि रविलाई बताएको थिएन । रविले निस्किने बेलामा सरकारी वकिल कार्यालयमा ‘आज टाउको दुःखेको पनि छ, भोलि ११ बजेतिर पोखरा जाने होला’ भनेका थिए ।

राति ९ बजे जिल्ला प्रहरी कार्यालय चितवन लगेपछि उनले रास्वपाका नेताहरुसँग भेट गरे । दिनभर भएको सडक प्रदर्शनबारे पनि उनलाई जानकारी गराइयो ।

सुतेको बेला उठाइएको होइन : प्रहरी

रविले आफू सुतिसकेपछि मध्यरातमा उठाएर झांगलझुंगल पार्दै गाडीमा चढाइएको भेट्न आएका नेताहरुलाई बताएका छन् । आफूले स्वास्थ्य परीक्षणको माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

साथै आफूलाई उठाउन आएकामध्ये एक प्रहरीले मापसे गरेको दाबी पनि रविले गरेका छन् ।

चितवन प्रहरीले भने यसको खण्डन गरेको छ । सूचना अधिकारी रिजालले जारी गरेको विज्ञप्तिमा बयान सकिएर जिल्ला सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्किएपछि उनलाई हिरासत कक्षमा नलगी आफन्त भेटघाट गर्न दिएको र भेटघाट कक्षबाटै राति १२ः०५ मा पोखरा हिँडाइएको उल्लेख छ । हवाई उडानका लागि प्रतिकूल मौसम र रवि स्वयम्को सुरक्षाका खातिर मध्यरात गाडीमा लैजानुपरेको रिजालले दाबी गरेका छन् ।

स्रोतका अनुसार त्यसरात प्रहरीले अचानक ‘ल हजुर अब पोखरा जानुपर्‍यो’ भनेपछि लामिछाने आश्चर्यमा परेका थिए । उनले १२ घण्टासम्म बयान दिँदा आफू थाकेको, टाउको दुःखेको र प्रेसरको समस्या पनि रहेको भन्दै अर्को दिन लैजान अनुरोध गरे, तर प्रहरीले अहिल्यै जानुपर्ने अडान लियो ।

‘प्रहरीले तपाईं नमान्ने भए हामीले बल प्रयोग गरेर भए पनि लैजानुपर्छ’ भनेपछि रवि आक्रोशित हुँदै ‘किन बल प्रयोग गर्नुपर्‍यो, म गइहाल्छु नि’ भनेर गाडीमा बसेको प्रहरी स्रोतले नेपालप्रेसलाई बतायो ।

डीएसपी रिजालको कमान्डमा चितवन प्रहरीले राति ३ बजे लामिछानेलाई तीन घण्टाको यात्रापछि पोखरा पुर्‍याएको थियो ।

चितवन प्रहरी प्रमुखको भूमिकामा प्रश्न

रविको समग्र बयान प्रक्रियामा चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रको भूमिकामाथि पनि प्रश्न उठेको छ । प्रहरी संगठनभित्र एसपी मिश्रले व्यक्तिगत स्वार्थ प्रेरित भएर लामिछानेको बयान प्रक्रियालाई जानाजान संवेदनशील र सुरक्षा जोखिमयुक्त देखाउन चाहेको चर्चा छ ।

चितवन सरुवा भएर आउनुअघि उनी पर्सा जिल्लाको प्रहरी प्रमुख भएर जान चाहेका थिए । लामिछानेको बयान सहज रुपमा गराउन सके भने रोजेको स्थानमा पठाइदिने आश्वासन पाएपछि उनी चितवन आएको बुझिएको छ ।

‘उहाँलाई रवि लामिछानेको बयानको लागि मात्रै भनेर चितवन पठाइएको हो’, स्रोतले भन्यो, ‘उहाँले आवश्यक ठाउँमा निषेधित क्षेत्र घोषणा गर्नुभएन । प्रहरीको गेटसम्म आउन दिएर प्रदर्शनकारीलाई उत्तेजित बनाउन खोजेको देखिन्छ । उहाँले आफैं सुरक्षा जोखिम निम्त्याएर गाह्रो काम फत्ते गरें भनेर देखाउन खोज्नुभएको हो ।’

एसपी मिश्र भने प्रहरीले बल प्रयोग नगरेको दाबी गर्छन् । सुरक्षाको अवस्था र आइतबार म्याद थप गर्नुपर्ने कारणले नै चितवनबाट पोखरा लगिएको उनले बताए ।

बिहीबार बिहानै ‘माथिको निर्देशन’अनुसार आफूले चितवनबाट राति नै पठाएको उनको भनाइ छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले अदालतबाट पक्राउ पुर्जी भएपछि बयान गराएर सुरक्षाको अवस्था आँकलन गरी सम्बन्धित जिल्लामा फिर्ता गर्नु नियमित सामान्य प्रक्रिया भएको बताए ।

‘उहाँहरु मानव अधिकार आयोग जानुभएको भन्ने मलाई जानकारी छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘प्रहरीले नियमित प्रक्रियाअनुसार र कानूनसम्मत तरिकाले नै उहाँलाई पोखरा लगेको हो । यसको लागि अरु कुनै आदेश वा निर्णय चाहिँदैन ।’


प्रतिक्रिया

2 thoughts on “चितवनमा रविका दुई दिन: मध्यरातमा बल प्रयोगको चेतावनीपछि प्रहरीको गाडीमा चढे

  1. स्वभाविक हाे, जनताकाे बचतलाइ ठग्नेकाे पनि यस्ताे बनावटी लफडा ।

    1. जनताको बचत र देश ठग्ने त तिम्रा काँग्रेस हुन् नि । खोइ समातेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *