रवि लामिछानेमाथि ‘अमानवीय व्यवहार’ को आरोपबारे एआईजीले दिए आयोगमा बयान – Nepal Press

रवि लामिछानेमाथि ‘अमानवीय व्यवहार’ को आरोपबारे एआईजीले दिए आयोगमा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ । आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लियो ।

एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन् । आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै आज बोलाएको थियो । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाएको बताए ।

‘बाहिर उठेका विषयहरुबारे हामीले सोध्यौं । उहाँहरुले आफ्नो भनाइ राखेर जानुभएको छ । हामी अहिल्यै निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानलाई निरन्तरता दिन्छौं’, पोखरेलले भने ।

दुवै प्रहरी अधिकारीले हिजो चितवन प्रहरीले जारी गरेको विज्ञप्तिमा टेकेर जवाफ दिएका थिए । उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताए ।

डा. पोखरेलले आवश्यकता महसुस भएमा आईजीपीलाई फेरि बोलाएर बयान लिने जानकारी दिएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै एआईजी तामाङले भोलिपल्ट आन्दोलन हुने र असुरक्षाको सम्भावनालाई मध्यनजर गर्दै उनलाई राति नै लैजानु परेको बताए । ‘उहाँकै सुरक्षाका लागि त्यसो गरिएको जवाफ दियौं’, उनले भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *