अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सन्देशमुलक गीत सार्वजनिक (भिडिओ)
काठमाडौं । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा महिलाको निम्ति महिला मञ्च नेपालले चेतनामुलक गीत सार्वजनिक गरेको छ ।
उक्त गीत महिलाको निम्ति महिला मञ्च नेपालको युट्युब च्यानल वुफोवन (WOFOWON) मा सार्वजनिक गरिएको छ । गीतमा हरि प्रसाद तिमिल्सिनाको शव्द, धिरज कोइरालाको संगीत रहेको छ भने रञ्जिता विश्वकर्माले आवाज दिएकी छन् ।
गीतमा मिडिया एडभोकेसी ग्रुपकी कोषाध्यक्ष रसना ढकाल र कलाकारहरुकाे उपस्थिति रहेकाे छ भने वोफोवन सांस्कृतिक समूहका कलाकारहरुले आवाज दिएका छन् ।
समाजका ज्वलन्त सामाजिक सवाल र असंगठित क्षेत्रका श्रमिकका सवालमा केन्द्रित भइ तयार गरिएको गीतले चेतना बढाउने विश्वास गरिएको महिलाको निम्ति महिला मञ्च नेपालकी वर्षा लुईटेलले जानकारी दिएकी छन् ।
।
हरेक वर्ष डिसेम्बर ८ लाई अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको रुपमा मनाइन्छ । यस वर्ष‘यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम गरी महिनावारी दिवस मनाइएको छ । महिनावारी प्राकृतिक प्रक्रिया हो, यो लाजको विषय होईन र यसलाई सामान्य प्रक्रियाको रुपमा लिनुपर्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाइने गरिन्छ ।
अझैपनि नेपाली समाजमा महिनावारीलाई लाजको विषय र महिलामाथि विभेद गरिदैं आइएको छ । यो सृष्टिको निरन्तरताको लागि अपरिहार्य कुरा हो भन्ने जानकारी हुँदा हुँदैपनि अझैपनि नेपाली समाजमा विशेषगरी हिन्दु समाजमा महिलालाई महिनावारीमा विभेद गरिने, छुट्टै वस्न लगाउने गरिन्छ । चाहे त्यो दुर दराजमा भएका गाँउतिर किन नहोस् या त शहरी पढेलेखेका परिवार भित्रै किन नहोस् महिनावारी भएकै कारण महिलाहरुमाथि विभेद, हिंसा भइरहेको छ ।
महिलाको निम्ति महिला मञ्च नेपाल (WOFOWON) मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा काठमाडौं जिल्ला प्रशासनमा विधिवत रुपमा (मिति २०६४ साल चैत्र ६ गते) दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो ।
यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवद्र्धन तथा सुनिश्चिताको लागि अभियानरत छ । महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।