झापाको महारानीझोडाका चार हजार घरघुरीलाई जग्गाधनी पुर्जा वितरण सुरु – Nepal Press

झापाको महारानीझोडाका चार हजार घरघुरीलाई जग्गाधनी पुर्जा वितरण सुरु

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरणको आज शुभारम्भ गरेका छन् ।

साविक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाण पुर्जा वितरण सुरु हुन सकेको हो ।

लालपुर्जा वितरण गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आउनुभएको थियो । स्थानीयस्तरमा नागरिकले भोग्दै आएका यस्ता समस्या सरकारले क्रमैसँग समाधान गर्ने व्यवस्था गरेको छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार अबको १८ महिनापछि काङ्ग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने उनले पुनः स्मरण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *