लुम्बिनीमा भ्रष्टाचारविरुद्धको रणनीतिक योजना तयार
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना २०८१ तयार पारेको छ । आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्म लागू हुनेगरी रणनीतिक योजना तयार पारिएको हो ।
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही एवं पारदर्शी बनाउन प्रदेश सुशासन ऐन २०७६ कार्यान्वयनमा रहेको प्रदेश सरकारले जनाएको छ । पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्त रुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता कायम गरी सुशासन प्रवर्द्धनका लागि प्रदेश सुशासन केन्द्रमार्फत विभिन्न क्षमता विकास कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।
सार्वजनिक सेवालाई सहज र पहुँचयोग्य बनाउन प्रदेश मन्त्रालय, प्रदेशस्थित कार्यालय र प्रदेशभित्रका स्थानीय तहबाट सञ्चालन हुने सेवा प्रवाह, कार्यक्रम तथा क्रियाकलाप कानुनी शासनको अवधारणामा आधारित रही कानून, कार्यविधि, मापदण्ड निर्माण गरेर कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारले जनाएको छ ।
भ्रष्टाचारको जोखिम क्षेत्रको रुपमा यातायात सेवाअन्तर्गत सवारी चालक अनुमति, सवारी दर्ता, नवीकरण, सार्वजनिक खरिद, निर्माण, सुधार, मर्मत, परामर्श सेवा, आयोजनाको अध्ययन, अनुसन्धान, डीपीआर तयारीको काम, यातायात र मालपोत क्षेत्रबाट राजस्व चुहावटलगायत पहिचान गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोगमा दर्ता भएको कुल उजुरी ३६ हजार १८६ मध्ये लुम्बिनी प्रदेशमा स्थानीय तह र प्रदेशगरी चार हजार ८९४ भ्रष्टाचारको उजुरी परेको थियो । प्रदेश सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि नीतिगत, कानूनी र संस्थागत व्यवस्था एवं कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यसैबीच लुम्बिनी प्रदेशमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस औपचारिक कार्यक्रम गरेर मनाएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त लुम्बिनी प्रदेश बनाउने अभियानमा सरकार लागिपरहेको बताए ।
उनले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त प्रदेश निर्माणको संकल्पलाई पूरा गर्न दृढता व्यक्त गरे ।
‘राजनीतिककर्मीहरु, जो नीति निर्माण गर्ने थलोमा छौं । त्यो नीति निर्माण गर्ने थलोमा भएका र कार्यान्वयन गर्ने तहमा रहेका हामी सबैले मन, वचन र कर्मले मैले भ्रष्टाचार गर्दैन र गर्न दिँदैन भन्ने संकल्प लिने हो भने भ्रष्टाचार अन्त्य गर्न सकिन्छ । त्यो सम्भव छ’, उनले भने, ‘प्राप्त जिम्मेवारीहरु पूरा गर्न सकियो कि सकिएन भनेर सबैले सिंहावलोकन गर्न जरुरी छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगको काम कारबाही, वर्तमान अवस्था, चुनौती र सदाचार प्रवर्द्धनका लागि भएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढा, नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले सुशासन कायम गर्न भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्रता दिन जरुरी रहेको धारणा राखे ।