कर्णालीमा पत्रकार महासंघको चुनाव : दुई प्यानलबीच कडा प्रतिस्पर्धा
सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दुई बलियो प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्।
कर्णाली प्रदेशमा सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल, जसको नेतृत्व निर्मला शर्माले गरिरहेकी छन्, एक पक्षमा छ।
अर्कोतर्फ, कांग्रेस युनियनको विद्रोही समूह, माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, र अन्य प्रगतिशील संगठनहरूको समर्थनमा रमेश विष्टको नेतृत्वमा अर्को प्यानल खडा भएको छ।
निर्मला शर्मा नेतृत्वको प्यानलबाट कर्णाली प्रदेश कार्यसमितिका लागि विष्णुप्रसाद शर्माले उम्मेदवारी दिएका छन्। विष्ट नेतृत्वको प्यानलबाट प्रेस सेन्टरका गणेश कञ्चन भारती मुख्य प्रतिस्पर्धी छन्।
शर्मा प्यानलका उम्मेदवारहरू उपाध्यक्ष (खुल्ला) लक्ष्मण केसी, उपाध्यक्ष ९महिला० अप्सरा विष्ट, महासचिव खगेन्द्रप्रसाद भट्टराई, सचिव (खुल्ला) विस्नप्रसाद न्यौपाने, सचिव (समावेशी) अशोक राजी, कोषाध्यक्ष ईश्वरराज अधिकारी रहेका छन् ।
यस्तै, भारती प्यानलका उम्मेदवारहरूमा उपाध्यक्ष (खुल्ला) नारायणबहादुर खड्का, उपाध्यक्ष (महिला) सरिता चलाउने, महासचिव दीपक बुढा, सचिव (खुल्ला) नन्दराम जैसी, सचिव (समावेशी) भीमबहादुर परियार कोषाध्यक्ष अशोककुमार सिंह रहेका छन् ।
चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमवार साँझ सम्पन्न भएको छ। दुई प्यानलबीचको यो प्रतिस्पर्धा कर्णाली प्रदेशको पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ।
समर्थन जुटाउन उम्मेदवारहरू आ(आफ्ना संगठनहरूको बल र रणनीतिमा सक्रिय छन्। अब मतदाताको प्राथमिकताले नै प्रदेश नेतृत्वमा को विजयी हुन्छ भन्ने निर्धारण गर्नेछ ।
प्रदेशभर महासंघका ६ सय ६० मतदाता छन् । त्यसमध्ये रमेश विष्ट प्यालनले आफूतिर ३ सयभन्दा बढी मतको दाबी गरेको छ । उक्त प्यानलको तर्फबाट निर्वाचन परिचालनको नेतृत्व गरेका पत्रकार नमन शाहीका अनुसार प्रेस युनियनबाहेक नै २ सय ८० मत आफूतिर रहेको बताए ।
‘युनियनको विद्रोह अहिलेसम्म ३० प्रतिशत देखिएको छ, यही आधारमा हामी जित्छौ’, उनले भने ।
महासंघका वर्तमान कोषाध्यक्ष कलेन्द्र सेजुवाल बिष्टको विद्रोही प्यानल पक्षधर भएका कारण प्रदेशमा रहेका युनियनका मतदाताको विद्रोह बाक्लिएको छ ।