कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १० करोडको कारोबार – Nepal Press

कनेक्ट किसानद्वारा आयोजित कृषि प्रदर्शनी सम्पन्न, १० करोडको कारोबार

काठमाडौं । बाराको बरियापुरमा गढीमाई मेलाको अवसरमा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी हिजो (सोमबार) समापन भएको छ ।

मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन भएको कृषि प्रदर्शनीमा करिब १ लाख जनाले अवलोकन गर्दा १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष र बुकिङ कारोबार भएको आयोजक संस्था कनेक्ट किसानकी अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

प्रदर्शनीमा नेपाल सरकारका विभिन्न निकाय र निजी क्षेत्रको सहभागितासहित १०० भन्दा बढी स्टलहरू राखिएका थिए। प्रदर्शनीमा रैथाने बाली, कृषि उपकरण, नर्सरी, माछा, ट्र्याक्टर र अन्य आधुनिक प्रविधिहरू प्रदर्शन गरिएका थिए। सातै प्रदेशका फरक परिकारहरूले प्रदर्शनीलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ ।

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको प्रदर्शनीलाई जमहा गढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरेका हुन् ।

समापन कार्यक्रममा मेयर यादवले गढीमाई मेलामा पहिलो पटक फरक प्रकृतिको प्रदर्शनी आयोजना गर्न सफल भएकोमा कनेक्ट किसानलाई धन्यवाद दिए । उनले प्रदर्शनीले कृषकहरूलाई नयाँ ज्ञान र प्रविधिको अवलोकन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको प्रचारमा टेवा पुर्‍याएको उल्लेख गरे ।

कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँगको प्रत्यक्ष संवाद र रोबोटसँगको अन्तरक्रियाले कृषकहरूलाई विशेष अनुभव प्रदान गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले कृषिमा आधुनिक प्रविधिको प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान दिएको आयोजकको विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर