दुबई हुँदै कुवेत पुर्याएर महिला बेचबिखन गर्ने ४ जना पक्राउ
काठमाडौं । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले सिन्धुपाल्चोक जुगल गाउँपालिका ६ का २६ वर्षीय धर्म तामाङ, ३९ वर्षीय माइला लामा पाख्रिन भनिने टिकाराम तामाङ, उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का ५७ वर्षीया चन्द्र बहादुर आले मगर र मोरङ बेलबारी १ का पुष्प बिक भनिने पुष्प सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक भावेष रिमालले जानकारी दिए ।
धर्म र माइलाले कुवेतमा फ्रि भिषा फ्रि टिकटमा लगी घरेलु काममा लगाइदिने र महिनाको १२० केडी कमाइ हुने प्रलोभन देखाउँदै बेचबिखनमा संलग्न गराएको ब्यूरोले जनाएको छ ।
एक महिला (२६ बबरमहल ३५८)ले दिएको उजुरीअनुसार धर्म र माइलालेले उनलाई कुवेती घर मालिकलाई ९०० केडीमा बेचबिखन गरेको प्रहरीले जनाएको छ ।
घरेलु काममा रहँदा मालिकले चरम श्रम शोषण, यौन शोषण गरेको अवस्थामा फुत्केर भागेपछि कुवेत प्रहरीले सहयोग गरेर अक्टुबर २५ मा नेपाल फर्किन सफल भएको जाहेरवालाले बताएकी छन् । त्यसपछि उनकै उजुरीअनसार अनुसन्धान अघि बढेको प्रहरीको भनाइ छ ।
प्रहरीले धर्मलाई लम्जुङ र माइलालाई कास्कीबाट पक्राउ गरेको थियो ।
त्यसैगरी, अर्की महिला (२६ बबरमहल ३५३)ले दिएको उजुरीका आधारमा चन्द्र र पुष्प पक्राउ परेका हुन् ।
उनीहरुले त्रिवि विमानस्थलबाट दुबई पुर्याइ कुवेतको महिला एजेन्टको फ्ल्याटमा बेचबिखन गरेको खुलेको प्रहरीले उल्लेख गरेको छ ।
जाहेरवाला महिलाले आफूमाथि चरम श्रम तथा यौन शोषण गरेको र स्वास्थ्यमा समस्या आइ घर जान खोज्दा मालिकले ३ लाख रकममा किनेको त्यो रकम फिर्ता चाहिने बताएपछि ब्यूरोको पहलमा गत कात्तिक १३ गते नेपाल फर्किन पाएकी थिइन् ।
सुनारलाई मंसिर १३ मा काठमाडौंको बौद्धबाट र मगरलाई उदयपुरबाट पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी रिमालले बताएका छन् ।