पर्सामा सकियो रविको बयान, भोलि पोखरा फर्काउने तयारी
अधिकांश प्रश्न रेडिमेड र दोहोरिएको रविको गुनासो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा आज दिनभर रविको बयान भएको थियो ।
स्रोतका अनुसार रविले आफूलाई लगाइएका सहकारी ठगीको आरोप अस्वीकार गरेका छन् । उनलाई चार दर्जनभन्दा बढी प्रश्न सोधिएका थिए र रविले सबैको जवाफ दिए ।
रविलाई बिहान ९ बजे बयानका लागि लगिएको थियो । केहीबेर बयान लिएर खाना खुवाउन जिल्ला प्रहरी कार्यालय ल्याइयो । त्यसपछि फेरि सरकारी वकिल कार्यालय लगेर बयानलाई निरन्तरता दिइयो । बेलुका ५ बजेतिर बयान सकिएको हो । अहिले उनलाई फेरि जिप्रकाको हिरासतमा राखिएको छ ।
रविलाई बयान लिँदै गर्दा रास्वपा समर्थकहरुले प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाहिर रास्वपाका प्रदर्शनकारी र प्रहरीको केहीबेर घम्साघम्सीसमेत भएको थियो । अहिले भने माहोल शान्त छ ।
रविलाई प्रहरीले भोलि पोखरा फर्काउने तयारी गरेको छ । भोलि बिहानको उडानबाट काठमाडौं ल्याएर यहाँबाट फेरि पोखरा लगिने प्रहरी स्रोतले बतायो ।
रविले आजको बयानमा अधिकांश रेडिमेड र पुरानै प्रश्नहरु सोधिएको गुनासो गरेका छन् । रविलाई भेटेका रास्वपाका एक नेतासँग उनले आफू एउटै जवाफ दिँदादिँदा वाक्क भइसकेको सुनाएका थिए ।