लिखु तामाकोशी–६ का वडाअध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकलाई हरेक वर्ष घुमाउँछन् धार्मिक तथा पर्यटकीय स्थल
रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमणमा आइपुगेका एक सय ४० जना ज्येष्ठ नागरिकलाई स्वागत गरेका छन् ।
बागमती प्रदेशस्थित लिखु तामाकोशी गाउँपालिका–६ रामेछाबाट लुम्बिनी प्रदेशका पवित्र धार्मिक तिर्थस्थलहरुको भ्रमणमा आएका ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा स्वागत गरेका हुन् ।
सो क्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश धार्मिक तिर्थाटनको लागि सबैहिसावले उपयुक्त भएको जानकारी दिँदै भ्रमणमा निस्कन सबैमा आह्वान गरेका थिए।
प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटको अवधारणा विकास गरेको जानकारी दिँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशभित्रका अन्य धार्मिक तथा पर्यटकीयस्थलसंग जोडन थालिएको जानकारी आचार्यले दिए । उनले लुम्बिनी प्रदेश ऐहाँसिक, पुरातात्त्विक सम्पदाले भरिपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुको भ्रमणको गतिलो गन्तब्यस्थल बनेको बताए।
‘गौतमबुद्ध जन्मस्थल लुम्बिनी अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । संगसंगै स्वर्गद्वारी ऐतिहासिक, पुरादायित्वक हिसाबले महत्वपूर्ण थलो हो । यहाँहरु लुम्बिनी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा आउनु भएकोमा हार्दिक स्वागत गर्दछु’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश राजधानी स्थापना भएको देउखुरी र दाङ उपत्यका भ्रमण अवस्य गर्नुहोला ।’
लुम्बिनी प्रदेशलाई पर्यटकीय हव बनाउनेगरी प्रदेश सरकारले अघि बढाएको लुम्बिनी पर्यटन सर्किट अभियान प्रभावकारी हुने राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेलले बताए । पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर हरेक स्थानलाई सर्किटले जोड्न सक्दा पर्यटकहरुको आवागमन बढ्ने विश्वास व्यक्त गरे।
‘लुम्बिनी प्रदेश सरकारले अघि बढाएको योजनाहरु सार्थक छन् । लुम्बिनी पर्यटन सर्किटलाई अझ व्यापक बनाउन जरुरी छ’पोख्रेलले भने,‘पर्यटकीय क्षेत्र एउटा विकास र सम्भावनाको आधारस्तम्भ हो ।’ लिखु तामाकोशी–६ का वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले हरेक वर्ष वडाभित्रका ज्येष्ठ नागरिकलाई यसैगरी भ्रमण गराउँदै आएका छन् ।