पत्रकारहरुलाई जनप्रतिनिधिहरुकाे सुझाव- जनतातिर फर्किनुस्
डोटी । जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले जनताका वास्तविक समस्याहरु उजागर गर्न पत्रकारहरु जनतातिर फर्किनु पर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ डोटी शाखाको १४ औं साधारणसभा उद्घाटन गर्दै प्रमुख सिंहले भने, ‘पत्रकारले जनताका वास्तविक समस्यामा आधारित भएर पत्रकारिता गर्नु जरुरी छ । पत्रकारहरु दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वजनिक स्वार्थका लागि क्रियाशील हुनुपर्छ ।’
देशका हरेक क्षेत्रले अहिले समस्या भोगिरहेको जस्तै पत्रकारिता क्षेत्र झन बढी समस्यामा रहेको उनको भनाइ छ ।
जिसस प्रमुख सिंहले यातायात, सञ्चार र विद्युतीय उपकरणका कारण पछिल्लो समयमा पत्रकारिता सहज भए पनि सामाजिक सञ्जालहरुले यस पेशामा अविश्वास बढाएको बताए ।
शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले केही व्यक्तिहरुका कारण पत्रकारिता पेशा बदनाम भइरहेको बताए ।
‘राजनीतिक क्षेत्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्वन्ध रहेको छ’, बलायरले भने, ‘तर केही पत्रकारहरुका कारण हामीहरुबीचको सम्वन्धमा समस्या आउँदैछ ।’
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले केही पत्रकारहरुले स्थानीय तहहरुबाट व्यक्तिगत स्वार्थका लागि आफ्नो पक्षमा निर्णय गर्न दबाब दिने गरेको बताए ।
आफूले सोचे जस्तो नभएपछि सूचना पाउँ भन्ने निवेदन दिएर हैरान गर्ने गरेको उनको गुनासो छ ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले अब पत्रकारहरुले सामाजिक विकासमा कलम चलाउनुपर्ने सुझाव दिए ।
जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनाराले पत्रकारहरुले निष्पक्ष भएर कलम चलाउनुपर्ने बताइन् ।
‘एउटै वस्तुलाई कसैले सेतो भन्छ, कसैले कालो भन्छ’, उनी भन्छिन्, ‘सत्य के हो त्यो त सबैले एउटै देख्नुपर्ने हो ।’
जनतातिर फर्केर दलाली चाहिँ कसले गर्छ नि ?