क्षणिक फाइदाका लागि प्रचण्डले मिथ्या सूचना र सामाजिक अराजकताको सहारा लिँदैछन् – Nepal Press
एमाले बैठकमा विश्लेषण

क्षणिक फाइदाका लागि प्रचण्डले मिथ्या सूचना र सामाजिक अराजकताको सहारा लिँदैछन्

प्रचण्डको सचिवालयले १५ भन्दा बढी युट्युब च्यानलमार्फत घृणा फैलाउने योजना बनाएको एमालेको दाबी, भ्रामक र चरित्रहत्याको भाषण गरेर दुर्गा प्रसाईंहरु जस्तै भाइरल बन्ने बाटोमा हिँडेको आरोप

काठमाडौं । मंसिर २७ गते बिहीबार अपराह्नबाट माओवादी केन्द्र र रास्वपाका कार्यकर्ताले एउटा भिडिओ क्लिप भाइरल बनाए । त्रिभुवन विश्वविद्यालय सिनेट बैठकमा प्राज्ञले प्रधानमन्त्रीलाई ¥याखर्याख्ती पारेको भनिएको भिडिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना गरेको देखाउन खोजिएको थियो ।

खासमा त्यो भिडिओ काटकुट गरेर बनाइएको थियो । सिनेट बैठकको लाइभ हेर्नेहरुका लागि त्यो फ्याक्ट चेक गर्नै नपर्ने दृश्य थियो । किनकि बैठकमा कुलपति ओलीको होइन उपकुलपति केशरजंग बरालको आलोचना विद्यार्थी, कर्मचारी र प्राध्यापक प्रतिनिधिले गरेका थिए ।

सामाजिक सञ्जालले लाइभ दृश्यलाई पनि कसरी बंग्याउँछ भन्ने जिउँदोजाग्दो उदाहरण हो त्रिवि सिनेट बैठकको भाइरल क्लिप । प्रधानमन्त्रीको सचिवालय र एमाले पंक्तिले वास्तविक भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दासम्म काटकुट पारेर प्रधानमन्त्रीको विरोध गरिएको भिडिओ भाइरल भइसकेको थियो ।

एमाले बैठकमा के भयो ?

संयोग नै मानौं, यसको २ दिनअघि मात्र एमाले केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्ताबाट हटिसकेपछि मिथ्या सूचना फैलाउने सामाजिक सञ्जालको गिरोहसँग जोडिन थालेको र अराजकता मच्चाउने शक्तिहरुलाई बढावा दिन रणनीतिक रुपमै लागेको विश्लेषण भएको थियो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग प्रचण्डको नाम नलिई पार्टीले यस्तो प्रवृत्तिलाई गम्भीर रुपमा लिएको बताएका थिए ।

मंगलबार बसेको सचिवालय बैठकको निर्णय सुनाउने क्रममा प्रचण्डलाई लक्षित गर्दै ज्ञवालीले भने- ‘पछिल्लो समय मिस-इन्फरमेसन, डिस-इन्फरेसनहरु सामाजिक सञ्जालमार्फत भ्रम फैलाएर जनतामा निराशाहरु सिर्जना गर्ने, सामाजिक सद्भावहरुलाई खलबल्याउने र राजनीतिक दलका नेता, प्रधानमन्त्रीहरुको चरित्रहत्या गर्ने जस्ता प्रवृत्ति बढेका छन् । अझ कतिपय राजनीतिक दलका नेताहरुले नै आफ्नो क्षणिक स्वार्थको लागि यस्ता कुराहरुलाई बढावा दिने र जोडिने प्रवृत्ति देखिएको छ । यस्ता कुराहरु उचिन होइन । यस्तो खालको भ्रम प्रचार र अराजकताले कसैलाई पनि लाभ दिँदैन । त्यसका बारेमा हामीले पार्टीका तर्फबाट गलत कुराहरुको आलोचना गर्नुपर्छ, खण्डन गर्नुपर्छ र सही विचारहरुको पक्षमा दृढतापूर्वक उभिनुपर्छ र गलत कुराहरुको यथोचित प्रतिवाद गर्नुपर्छ र राजनीतिक रुपमा खण्डन गर्नुपर्छ यो कुराहरुमा पार्टी पंक्तिमा आह्वान गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

पछिल्लो समय प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत क्षणिक फाइदाका लागि मिथ्या सूचना र सामाजिक अराजकताको सहारा लिएको निष्कर्षसहित एमालेले व्यवस्थित रुपमा प्रतिवाद गर्नलाई पार्टी पंक्तिलाई परिचालन गर्नेगरी छलफल अघि बढाएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह, राजवादी र पहिचानवादी शक्तिदेखि माओवादीले समेत एमाले र प्रधानमन्त्रीविरुद्ध भ्रामक र मिथ्या सूचना फैलाउने गरेको एमालेको निष्कर्ष छ ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै गलत सूचना दिएर राजनीतिक दलहरु र दलका नेताहरु, सरकार, प्रधानमन्त्रीको चरित्र हत्या गर्नेसम्मको प्रयास भइसकेको बताए ।

एमाले र एमालेका नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा वार भइरहेकाले त्यसको प्रतिवाद गर्न हरेक जिल्लामा सोसल मिडिया डेस्क स्थापना गर्नसमेत यसअघि नै सर्कुलर गरिसकेको छ ।

गत बैशाख अन्तिममा बसेको केन्द्रीय कमिटीको बैठकले प्रचार र सूचना प्रवाहको काममा सोसल मिडियाको सदुपयोग गर्ने, सबै प्रकारका सोसल मिडियामा सम्बन्धित तहको पार्टी कमिटी र पार्टी सम्बद्ध जनसंगठनहरूले सञ्जाल निर्माण गर्ने निर्णयसमेत गरेको थियो ।

प्रचण्डको रणनीतिक मुभ, युट्युबर परिचालन

 

एमालेले सामाजिक सञ्जालमार्फत पार्टी र नेतृत्वविरुद्ध भइरहेको मिथ्या आरोप तथा घृणा फैलाउने प्रवृत्तिको पहिचान गरेको जनाएको छ । सामाजिक अराजकतावादी, व्यवस्थाविरोधीहरुले थालेको यो अभियानमा अहिले माओवादी नेतृत्वसमेत मिसिएको एमालेको ठहर छ ।

एमाले बागमती अध्यक्ष कैलाश ढुंगेल भन्छन्, ‘रवि लामिछानेहरु जस्ता लोकप्रियतावादी, बालेनवादी हुँदै प्रचण्डले सत्ता गुमेपछि पहिचानवादीदेखि राजावादीसम्मलाई नचिढ्याउने ढंगले प्रस्तुत भइरहेका छन् । यतिसम्म कि दुर्गा प्रसाईंका मिथ्या सूचना र घृणा फैलाउने अभिव्यक्तिलाई समेत माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा दौडाइरहेका छन् । जबकि त्यही दुर्गा प्रसाईंले प्रकाश दाहालको मृत्युपछि वसन्त चौधरीले प्रचण्डको करोडौं रुपैयाँ पचाएको आरोप लगाएको भिडिओ सामाजिक सञ्जालमै छ । अहिले प्रचण्ड मूलधारको नेता होइन, युट्युबरको भर परेर दुर्गा प्रसाईं जस्तै भाइरल बन्ने धूनमा देखिन्छन् ।’

काठमाडौंका मेयर बालेनले प्रधानमन्त्री ओलीको चर्को विरोध गरेको र एमालेले सभा नसक्दै फोहोरको जरिवाना–पत्र पठाएका बेलामा प्रचण्डले नयाँ र स्वतन्त्र राजनीतिक व्यक्तिहरुलाई बगैंचामा फक्रिरहेका कोपिलाको संज्ञा दिँदै फेसबुक स्टाटसमार्फत उक्साइरहेको एमालेको बुझाइ छ ।

प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको अघिल्लो दिन पनि शहरी जनमतलाई प्रभावित पार्ने रणनीतिअनुसार नयाँ र स्वतन्त्रप्रति उदार भएर सामाजिक सञ्जालमा प्रकट भएका थिए । कुनै प्रसंग नै नचलेका बेला उनको स्टाटस आफैंमा अर्थपूर्ण थियो ।

उनले फेसबुकमा लेखेका थिए, ‘…जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्र रुपी बगैंचामा फुलेका सुन्दर फूल भन्दै आएको छु । लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेरमात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न सम्भव छ । बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फुल्न दिएरमात्रै त्यसको सही पहिचान हुन्छ ।’

उनले कांग्रेस-एमालेलाई लक्षित गर्दै सही र गलतको पहिचान जनताले गर्ने भन्दै शासकको डण्डाले नगर्ने टिप्पणी गरेका थिए । सहकारी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको पक्षमा उभिएर स्वतन्त्र नयाँ जमातलाई अहिले पनि प्रचण्डले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । उनले रवि लामिछानेको पक्षमा स्टाटसमात्र होइन, भाषण नै गरेर कांग्रेस-एमालेले त्यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिइसकेका छन् ।

अहिले रास्वपाकै कित्तामा पुगेर रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गरे पनि हुन्छ भन्दै सरकारले प्रतिशोध साँधेको दाबी गर्न थालेका छन् । प्रचण्डले क्षणिक स्वार्थको लागि अराजकतावादीको पक्षमा उभिएको एमालेको निष्कर्ष छ ।

व्यक्तिगत भेटमा पनि दुर्गा प्रसाईंलाई समेत प्रचण्डले नै उस्काएको भन्दै ओलीले क्षणिक स्वार्थमा नलाग्न भन्दै सुझाएको बताइन्छ । अहिले दुर्गा प्रसाईंले एमाले र आफूविरुद्ध गरिरहेको आक्रमणको उदाहरण दिँदै ओलीले प्रचण्डलाई त्यतातर्फ पनि ध्यान दिन सचेत गराइसकेका छन् ।

एमाले सचिवालय बैठकमा सामाजिक सञ्जालमा जे जस्ता फण्डा गरेर बालेन-हर्कदेखि दुर्गा प्रसाईंसम्मले चर्चा बटुले, पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पनि सोही शैली पछ्याइरहेको समीक्षा भएको एक नेताले बताए ।

बैठकमा प्रचण्डका पछिल्ला अभिव्यक्ति, सामाजिक सञ्जालमा उपस्थिति र मूलधारको राजनीति र मिडियाभन्दा बाहिरबाट जनमत भ्रमित पार्ने टीम परिचालन गरिरहेकोसमेत सूचना प्रदान गरिएको थियो ।

एक नेताले भने, ‘प्रचण्डजीले प्रधानमन्त्रीबाट हटेलगत्तै हाम्रो अध्यक्ष केपी ओलीकै शैलीमा फेसबुक पेजमा पोस्ट गर्ने, फोटा तथा भिडिओ राख्ने र जन सम्बन्ध देखाउन खोज्ने प्रयास गरे ।’ ओलीका फलोअर्स घटाउने बालेनवादीको अभियानमा माओवादी केन्द्रले सर्कुलर नै जारी गरेर पार्टी कार्यकर्ता परिचालन गरेको हो । आफ्ना फलोअर्स बढाउन आर्थिक स्रोतसाधन नै परिचालन गर्नुले पनि प्रचण्डमा भाइरलमोह जागेको प्रस्ट हुन्छ ।पछिल्लो समय उनले बालेन र दुर्गा प्रसाईंकै जसरी निजी युटुबर राख्न खोजेका थिए, तर नयाँ युट्युब च्यानल खोलेर दर्ता गरेर फलोअर्स खोज्नेभन्दा अहिले विभिन्न समूहले चलाएका युट्युबरहरुलाई नै परिचालन गर्दैछन् ।’

प्रचण्डले मूलधारका सम्पादकहरुको भेला गरेभन्दा महत्वका साथ युट्युबरसँग खुमलटारमै छलफलसमेत गरेको एमालेको निष्कर्ष छ ।

ती नेताले थपे, ‘समग्रमा प्रचण्ड अहिले हतास भइसकेका छन्, मूलधारबाट झूट नबिक्ने भएकाले सामाजिक सञ्जाल, युट्युबरहरुमार्फत मिथ्या सूचना, हेट स्पिच र गालीगलौजको प्लेटफर्ममा उत्रिएका छन् ।’

एमाले बैठकमा प्रचण्डको सचिवालयले १५ वटा युट्युब च्यानललाई पैसा दिएर परिचालन गर्ने योजना बनाएको र हालसम्म ५ वटा युट्युबर खरिद भइसकेको जानकारीसमेत दिइएको थियो । बालेनकै शैलीमा ५० हजारभन्दा माथि फलोअर्स भएका फेसबुक पेजहरुमार्फत समेत प्रधानमन्त्री ओली र एमाले तथा कांग्रेसविरुद्ध मिथ्या सूचना प्रवाह गर्ने रणनीति प्रचण्डको सचिवालयले बनाएको आरोप छ ।

सामाजिक सञ्जाल उपयोग गर्न नसकेको एमाले निष्कर्ष

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बैठकमा सामाजिक सञ्जालको अराजकताको विषयमा सचिवालय बैठकमा सामान्य छलफल भएको बताए ।

उनले भने, ‘सामाजिक सञ्जालको अराजकताको विषयमा ठोस एजेण्डा नबने पनि हरेकजसो बैठकमा कुरा उठ्ने गरेको छ । सामाजिक सञ्जाललाई हाम्रो कार्यकर्ता पंक्तिबाट अधिकतम सकारात्मक ढंगले प्रयोग गर्ने काममा कमी भइरहेको छ भन्नेमा समीक्षा गर्नुपर्छ ।’

उनले कुनै व्यक्ति केन्द्रित नभई विरोधीहरुले एमालेको बदनाम गर्न सामाजिक सञ्जालको प्रयोग गरिरहेकोबारेमा छलफल भएको बताए ।

उनले थपे, ‘हामीले पार्टी र पार्टीको नेताहरुको स्थापित गर्ने, सरकारले गरेको काम स्थापित गर्न पार्टीपंक्ति लाग्नुपर्ने हो, तर त्यो ढंगले हामीले सामाजिक सञ्जाललाई प्रगोग गर्न सकिरहेका छैनौं भन्ने ढंगबाट कुरा भएको हो ।’

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालको अराजकतालाई राज्यले कानून बनाएर नियमन गर्नुपर्छ भन्नेमा पार्टी लागिरहेको बताए ।

उनले थपे, ‘सामाजिक सञ्जाल सञ्चालकहरुलाई जवाफदेही बनाउने भन्नेमा सबै पार्टीहरु गम्भीर भइरहेका छन् । सामाजिक सञ्जाललाई जवाफदेही बनाउन सबै र राज्यहरुको भूमिका के हुनसक्छ भन्नेमा पनि हामीले चासो राखेका छौं ।’

उनले पार्टी कमिटीको संगठित नेता कार्यकर्तालाई आफ्नो नियमित एजेण्डाको पक्षमा लेख्न लेखाउन, मिथ्या र अराजक पार्टीविरुद्धको खण्डन गर्न पार्टीले अपिल गरिसकेको बताए । उनले प्रचण्डको बोलीको टुंगो नहुने भन्दै बैठकमा पार्टीविरुद्धका अराजक गतिविधिबारे समीक्षा पनि भइरहेको सुनाए ।


प्रतिक्रिया

3 thoughts on “क्षणिक फाइदाका लागि प्रचण्डले मिथ्या सूचना र सामाजिक अराजकताको सहारा लिँदैछन्

  1. यस्ता विरोध पनि ओलि र एमाले विरूद्व मात्र केन्द्रित छन् । एमाले मात्र निशाना होईन भनेजस्तो गर्न तिनले विरलै अरू पार्टी र नेताका पनि नाम झुण्ड्याईदिएको देखिन्छ । यी सबै काम गर्ने मूलत भारतीय र पश्चिमाका दलाल र भाडाका टट्टुहरू हुन भन्ने लाग्छ मलाई त । यो विषयमा राम्रैसँग र सूक्ष्म ढंगले छानबिन होस् । प्रचण्ड, माओवादी, माधव, मेटमणी , विरोध खतिवडा, कथित पूर्वका पहिचानवादी, दुर्गा, बालेन, प्रभू साह, हर्क, ईत्यादिका विरोध हेरियो भने केपी र एमाले मात्र निशानामा छन् । कतै यिनले यी काम गर्न लैनचौरबाट हण्डि त बुझिरहेका छैनन ? छानबिन होस् । अहिले त रास्वपा पनि त्यहि लाईनमा छ । तिमीहरू सबैले के बुझ भने यस्ता हर्कत पहिला पनि तिमीहरूको भन्दा कडा स्वरूपमा राजेन्द्र महतो, महन्त ठाकुर आदिले गरेका थिए । तर आज ती कहाँ छन् एमाले कहाँ छ हेर न । जनावरले पो सोच्दैन त मान्छेले त सोच्छ । त्यसैले तिमीहरू पनि सोच । तिमीहरू सबैको एकैचोटि प्रतिकार गरेर सबैलाई ठिक पार्न पनि एमालेलाई आउँछ । तर एमाले शालिन ढंगले तिमीहरूका यस्ता अराजकता र पाखण्डीपनसँग लडछ किनकी उसलाई त देश बनाउनु छ । तिमीहरूलाई केबल दलाली गर्नु छ । इमान जमान बेचेकाहरूको के मूल्य हुन्छ र ?

  2. सामाजिक सञ्जालको अराजकतालाई राज्यले कानून बनाएर तत्काल नियमन गर्नुपर्छ ।

    1. गर, सके मलाई पनि झिकाउ र थुन। यो लापर्वाह र लालचि सरकारको बिरोध गर्न पाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर