चितवनविरुद्ध विराटनगरको फराकिलो जित, प्लेअफको सम्भावना जीवित
काठमाडौं । प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ ।
विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो ।
६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य खेलको नतिजाले पनि साथ दिनुपर्छ ।
टस जितेर आज विराटनगरले ब्याटिङ रोजेको थियो । एक समय १० रनमा तीन विकेट र ३३ रनमा चार विकेट गुमाएको विराटनगरलाई मार्टिन गुप्टिल, बसिर अहमद र राजेश पुलामीले उद्दार गरे । छैटौं विकेटका लागि बसिर । राजेशले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याएका थिए । बिराटनगरले अन्तिम ५ ओभरमा ७६ रन जोडेको थियो ।
उत्कृष्ट सुरुवात गरेको चितवनले अन्तिम ओभरहरुमा लय गुमाउन पुग्यो । चितवनको खराब फिल्डिङ र विकेटकिपिङले पनि बिराटनगरलाई फाइदा मिल्यो । चितवनले २३ अतिरिक्त रन दिएको थियो । मार्टिन गुप्टिल र बसिर अहमदले जीवनदान पाएका थिए ।
३३ रनमा ४ विकेट गुमेको स्थितिबाट मार्टिन गुप्टिल र बसिर अहमदले बिराटनगरलाई खेलमा फर्काएका थिए । उनीहरुले ६५ रनको साझेदारी गर्दै विराटनगरलाई ९८ रनसम्म पुर्याए । त्यसपछि आएका राजेश पुलामीले बसिरलाई बलियो साथ दिए । उनीहरुबीच ३७ बलमा ८३ रनको अविजित साझेदारी भएको थियो ।
बसिर अहमदले ४४ बलमा ४ चौका र ४ छक्कासहित ६८ रन बनाए । यस्तै पुलामीले २० बलमा ३ छक्का र एक चौकासहित ३३ रन हाने ।
जवाफी ब्याटिङमा चितवनले ६ विकेटका क्षतिमा १३० रन मात्रै जोड्न सक्यो । यसअघि तीन खेल जितेको चितवन आज जितेको भए प्ले अफमा बलियो दावेदारी हुन सक्थ्यो । तर, आजको हारले टीममाथि दवाव थपिएको छ ।
चितवनका अमरसिंह रौटेलाले २८ बलमा सर्वाधिक ४२ रन बनाए । कुशल मल्ल २५ बलमा त्यति नै रन बनाएर आउट भए । बिराटनगरका लागि सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।