विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु  – Nepal Press

विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विराटनगरस्थित शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरस्तरीय प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका हुन् ।

विराटनगरस्थित पोखरिया माविको समन्वयमा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उल्लेख गरे ।

मेयर कोइरालाले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने एउटा कारखाना पनि हो । यहीँबाट छनौट भएर भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन हुन्छन् ।’

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *