पत्रकार महासंघको निर्वाचन: शीर्ष नेताकै जिल्लामा फरक फरक जित – Nepal Press

पत्रकार महासंघको निर्वाचन: शीर्ष नेताकै जिल्लामा फरक फरक जित

काठमाडौं । शुक्रबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा राजनीति दलका शीर्ष नेताले आफ्नै जिल्लामा आआफ्नो साख जोगाउन सकेनन् । स्वयं नेताहरू आआफ्ना जिल्लाबारे चिन्तित हुँदा संगठन नेतृत्वले ती चिन्तालाई सार्थकता दिएनन् ।

दलसम्बद्ध पत्रकार संगठनका दुईथरि गठबन्धनबीच प्रतिस्पर्धा हुँदा कुनै पनि संगठनले आफ्ना शीर्ष नेताका जिल्ला सुरक्षित पार्न सकेनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धन भयो । तर, उनकै जिल्ला डडेल्धुरामा उक्त गठबन्धन पराजित भयो । प्रेस युनियनका पुष्कर भण्डारीलाई समाजवादी प्रेस संगठनका हिक्मतबहादुर सिंहले एक मतले जिते । सिंह दोस्रो कार्यकालका लागि अध्यक्ष भएका छन् ।

जिल्ला नेतृत्वमा मात्रै हैन, त्यहाँबाट केन्द्र र प्रदेशमा खसेको मतमा पनि देउवापक्षीय गठबन्धन सफल भएन । केन्द्रीय अध्यक्षका लागि निर्मला शर्मा र रमेश विष्टले ३१ मतको बराबरी परिणाम ल्याए । केन्द्रको सचिवमा त्यहीँका बासिन्दा तथा समाजवादीका उम्मेदवार उत्तरसिंह विष्टले ५१ मत ल्याउँदा युनियनबाट सोही पदमा प्रतिस्पर्धा गरेका रमेश खतिवडाले १२ मतमात्रै पाए ।

एमाले अध्यक्ष केपी ओलीको जिल्ला झापामा प्रेस चौतारी बलियो संगठन हुँदाहुँदै युनियनको भागमा पारियो । युनियनबाट एकराज गिरी र राजेन्द्र गौतम अध्यक्षका उम्मेदवार थिए । गौतमलाई जिताउन केन्द्रबाट निर्देशन गयो । तर, चुनावचाहिँ गिरीले जिते ।

माओवादी अध्यक्ष प्रचण्डको जिल्ला चितवनमा माओवादीसम्बद्ध प्रेस सेन्टरका उम्मेदवार प्रकाशमणि ज्ञवालीलाई युनियनका उम्मेदवार बसन्त पराजुलीले ४० मतको अन्तरले पराजित गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको जिल्ला रौतहटमा उनकै पार्टीको संगठनले मदन ठाकुरलाई अध्यक्षमा उठाएको थियो । ठाकुरसम्बद्ध गठबन्धनसँग जित्ने संख्या हुँदाहुँदै आफ्नै पार्टी र संगठनको झगडाका कारण उनले हारे । युनियनका सन्जय कार्कीले चुनाव जिते । संगठनका जिल्ला अध्यक्ष दिनेश यादवले चाहिँ सहसचिवमा जिते ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *