नाफिजमा नयाँ कार्यसमिति निर्वाचित, नेपालप्रेसकर्मी न्यौपानेले पाए लोकप्रिय मत – Nepal Press

नाफिजमा नयाँ कार्यसमिति निर्वाचित, नेपालप्रेसकर्मी न्यौपानेले पाए लोकप्रिय मत

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार सम्पन्न नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्कीले १०० मत पाउँदा उनका प्रत्याशी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए । कार्की यसअघि नाफिजको उपाध्यक्ष रहेकी थिइन।

नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिवारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमीला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरुको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए ।

यसैगरि महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीन ढुङ्गानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् । उनले लोकप्रिय मत पाएका छन् । उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए ।

No description available.

कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याएका थिए । यस्तै, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए ।

नाफिजको विधानअनुसार यसअघिका अध्यक्ष मोदनाथ ढकाल निवर्तमान अध्यक्षको रुपमा कार्य समितिमा रहनेछन् । बाँकी दुई सदस्य भने नयाँ कार्य समितिले मनोनीत गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर