परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेससँग मिल्यौं: प्रधानमन्त्री ओली – Nepal Press

परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेससँग मिल्यौं: प्रधानमन्त्री ओली

भ्रष्टाचारको मुद्दामा उजुरी परेको ५ वर्षसम्म पनि कारबाही नगर्ने अनि ५० वर्षसम्म लम्ब्याएर राखिराख्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आफूहरुले ल्याएको राजनीतिक परिर्वतनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थालेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् ।

२१औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने उद्देश्यले आफू नेतृत्वको सरकार बनेको बताए ।

उनले भने, ‘हामीले देशमा राजनीतिक परिर्वतन ल्याएका छौं । त्यो परिवर्तनलाई नै धरापमा पार्नेगरी अनेकखालको तत्व उम्रिन थाले । त्यसैले पुराना र योगदान गरेका पार्टी, नीति र देश बनाउने उद्देश्य बोकेका पार्टीहरु मिलेर सरकार बनाएका छौं । यो सरकार सरकार बनाउनमात्रै बनाइएको होइन । देश बनाउन र राजनीतिक अस्थितरता र अन्योल समाप्त पार्न तथा देशलाई विकृतिबाट अगाडि बढाउन अहिलेको सरकार बनेको हो । हामी त्यस काममा लागेका छौं ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारको विषयमा उजुरी परेको पाँच वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर आफूहरुले आवाज उठाएको बताए ।

उनले भने, ‘पाँच वर्षसम्म पनि कारबाही नचलाउने, अनि ए पाँच वर्ष छाड्दिने भन्छन्, हामीले छाड्ने भनेको छैन । पाँच वर्षभित्र कारबाही भइसक्नुपर्छ भनेका हौं । पाँच वर्ष हदम्याद भन्यो भनेर हटाउन बाध्य बनाए, हल्ला त्यही चल्यो । अब उजुरी परेको २० पछि हेरे पनि भयो, हेरे पनि भयो नहेरे पनि भयो । उजुरी परेको ५ वर्षसम्म पनि कारबाही नहुने हो भने ५० वर्षसम्म राखिराख्ने ? यो बेठीक कुरा हो ।’

प्रधानमन्त्री ओलीले ५ वर्षे हदम्यादको विषयमा आफूले भनेको सही रहेको जिकिर गर्दै उजुरी परेको ५ वर्षभित्र टुंग्याउर्नैपर्ने भन्दै लम्बाएर राख्न नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर