बर्दियामा सडक दुर्घटनाः बाबुछोरीको मृत्यु, आमाछोरा घाइते – Nepal Press

बर्दियामा सडक दुर्घटनाः बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

रुपन्देही । बर्दियाको गुलेरिया नगरपालिका- ४ पुरानो ट्राफिक कार्यालयस्थित हुलाकी सडक खण्डमा रोकिराखेको ट्याक्टरमा स्कुटर ठोकिँदा दुईको मृत्यु र दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीका अनुसार दुर्घटनामा परी स्कुटर चालक सप्तरीको रुपनी गाउँपालिका स्थायी घर भई गुलेरिया- ६ बस्ने ३७ वर्षीय रामकुमार साह र उनी छोरी ६ वर्षीया विद्याको मृत्यु भएको छ ।

स्कुटरमा सवार साहकी श्रीमती रुवी र २ वर्षीय छोरा प्रिन्स घाइते भएको उनले बताए ।

उनका अनुसार साहले चलाएको बा ६८ प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

घाइते बाबुछोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र रुवी र प्रिन्सको बर्दिया अस्पतालमा उपचार भइरहेको डीएसपी घर्तीले बताए ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार साह दम्पती छोराछोरी लिएर आइतबार उभौली पर्वको बिदा बनाउन निस्केका थिए ।

‘स्वास्थ्यसम्बन्धी काम गर्ने आड्रा नेपाल नामक गैरसरकारी संस्थामा काम गर्ने साह बिदाको दिन घुम्न परिवारसहित स्कुटरमा निस्केको पाइयो, स्कुटर रोकिएको ट्याक्टरमा ठोक्किएको देखिन्छ । घटनापछि म आफैं त्यहाँ पुगेको थिएँ, बच्चा अगाडि रहेर बाटो छेकिएर असन्तुलन भएर ठोकिएको हुनसक्छ’, प्रनाउ घर्तीले भने ।

अस्पतालमा उपचाररत रुवीको अवस्था सामान्य भए श्रीमान र छोरी गुमाएको घटना सुनेपछि मुर्छित अवस्थामा छन् । २ वर्षका छोराको अवस्था पनि सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ओम ज्ञवालीका अनुसार साह एक दशकदेखि बर्दियामा बसेर काम गर्दै आएका थिए ।

सप्तरीबाट साह परिवार तथा आफन्त आएपछि मात्रै शव बुझाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर