गौतम बुद्ध विमानस्थलमा अघि बढ्यो भू-उपग्रहमा आधारित आरएनपी एआर प्रविधि जडान प्रक्रिया – Nepal Press

गौतम बुद्ध विमानस्थलमा अघि बढ्यो भू-उपग्रहमा आधारित आरएनपी एआर प्रविधि जडान प्रक्रिया

भारतले अनुमति नदिएपछि करिब एक अर्ब खर्चिएको आईएलएस प्रविधि बेकामे

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण कमजोर दृश्य क्षमता (भिजिबिलिटी)मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडान प्रक्रिया सुरु भएको छ ।

भिजिबिलिटीको समस्या समाधान गर्न विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस क्याट टु) जडान गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । भारतले सहमति नदिएका कारण आईएलएस सञ्चालन रोकिएको हो ।

तर, कमजोर भिजिबिलिटीमा पनि उडान र अवतरण नियमित गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आईएलएसको विकल्पमा आरएनपी एआर प्रविधि जडान प्रक्रिया अघि बढाएको हो ।

विमानस्थलमा खराब मौसम र रातमा पनि अवतरण गर्न मार्गदर्शन गर्ने अत्याधुनिक उपकरण आईएलएस जडान गरिए पनि सञ्चालनमा ल्याउन नसक्दा हाल यहाँ परम्परागत प्रविधि (भीओआर डीएमई)मा आधारित उडान भइरहेका छन् । सेटलाइट बेस नेभिगेसनमा आधारित आरएनपी एआर प्रविधि सञ्चालनमा आएपछि भने यहाँको उडान अवतरण थप सहज र सुरक्षित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हुस्सु र कुहिरोका कारण भैरहवामा अवरोध हुँदै आएको उडान अवतरणलाई नियमित राख्न आरएनपीएआर जडान प्रक्रिया सुरु भएको बताए ।

‘यसको प्रक्रिया अघि बढिसकेको छ, हामीले सूचना नै प्रकाशित गरिसकेका छौं, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुसार आरएनपी एआर सञ्चालनमा ल्याउन विमानस्थलको सम्पूर्ण विवरण एरोनटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी)मा प्रकाशित गरिएको हो, यसलाई जनवरी २३ मा सक्नेगरी काम अघि बढेको छ’, उनले भने ।

आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने गर्छ । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमान चालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले करिब एक अर्ब रुपैयाँ खर्च गरेर जडान गरेको आईएलएसको फ्रिक्वेन्सी भारतले आफ्नो एरोबेसमा परेको भन्दै सञ्चालन गर्न अनुमति दिएको छैन । जसको विकल्पमा प्राधिकरणले आरएनपी एआर प्रविधि जडान गर्न लागेको हो ।

हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा छ । जसको मद्दतले एक हजार १०० मिटर भिजिबिलिटीसम्म यहाँ जहाज अवतरण भइरहेका छन् । उक्त प्रविधि जडान प्रक्रियाका लागि सार्वजनिक गरिएको एआईपीअनुसार माघ १० गतेदेखि भैरहवामा भूऔउपग्रहमा आधारित रहेर जहाज उडान अवतरण हुने प्रवक्ता भुलले जानकारी दिए ।

आरएनपी एआर जडानबारे एआईपीमा सार्वजनिक भएपछि वायुसेवा कम्पनीहरूले आफूलाई त्यहीअनुसार तयारी गर्ने र जहाजको ककपिट र चालक दलले पनि त्यहीअनुसारको प्रक्रिया सुरु गर्ने प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा मौसम प्रतिकूल भएको भन्दै तीन वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाइसकेका छन् । जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमको कारण देखाएर केही समय उडान स्थगित गर्नुपर्ने भन्दै प्राधिकरणलाई लिखित जानकारी गराएका हुन् ।

उनीहरुले पुस र माघ महिनामा उडानका लागि आवश्यक भिजिबिलिटी नपुगेकाले विमान उडान र अवतरणमा समस्या आएको र यहाँ आएर पुनः काठमाडौं लैजाने गर्दा यात्रुलाई पनि बढी समय लाग्ने र खर्च पनि बढ्ने भएकाले २ महिना उडान गर्न नसकिने संकेत गरेका छन् ।

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अहिले भैरहवामा १ हजारदेखि १ हजार २०० मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको र यो विमान अवतरणका लागि पर्याप्त मानिँदैन । एटीआरलगायत ठूला जहाजका लागि न्यूनतम १ हजार ८०० मिटर भिजिबिलिटी आवश्यक पर्छ, तर यहाँ हुस्सु लाग्न थालेपछि भिजिबिलिटी क्रमशः घट्दै गएको छ । आरएनपी एआर एप्रोच जडान भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिन्छ ।

उद्घाटनको साढे दुई वर्ष आन्तरिक उडानमै सीमित बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समयअघि अन्तर्राष्ट्रिय उडान शुरू भएको थियो । यसपछि उत्साहित यहाँका व्यवसायीहरु अहिले पुनः निराश हुन थालेका छन् ।

देशको दोस्रो ठूलो विमानस्थलका रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो । २०७९ जेठ २ मा यसको उद्घाटन भएको थियो ।


प्रतिक्रिया

One thought on “गौतम बुद्ध विमानस्थलमा अघि बढ्यो भू-उपग्रहमा आधारित आरएनपी एआर प्रविधि जडान प्रक्रिया

  1. १ अरब खर्चनु पूर्व भारतले अनुमति दिन्छ दिदैन बुझ्नुपर्दैन ?। कमिशन आए पछि जे सुकै होस् । भारत देश कस्तो दुष्ट हो भनेर बुझ्न योभन्दा बढी अरू के प्रमाण चाहियो । तैपनि यहाँ उसैका टट्टु छन् । चाईना कार्ड भन्ने सम्मका भाडाका टट्टु । देशको दुर्भाग्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *