पीडादायी रजनोवृत्ति यात्रा (भिडिओ) – Nepal Press

पीडादायी रजनोवृत्ति यात्रा (भिडिओ)

चितवन । किशोरावस्था प्रवेशसँगै छोरीहरूमा हुने महिनावारी र यससँग जोडिएर आएको मर्यादाको विषयमा सार्वजनिक वृत्तहरूमा महिलाहरूले चर्चा गर्न थालेका केही वर्ष भयो ।

महिनावारी भएसँगै निश्चित उमेर पछि महिलाहरूको महिनावारी प्रक्रिया सुक्छ भन्ने आम जानकारी छ । तर, महिनावारी सुक्ने प्रक्रिया रजनोवृत्ति (मेनोपज) मा पुग्दा शरीरमा हुने हर्मोनको उतारचढावका कारण महिलाको शरीरमा कस्ता परिवर्तन आउँछन् भन्ने विषयमा व्यापक छलफल अझै हुन सकेको देखिँदैन ।

महिनावारीको चक्र रोकिने समय आइपुगेपछि महिलाको शरीरमा कस्ता परिवर्तन आउँछ ? जसरी थाहै नपाइ योनीबाट महिनावारी प्रक्रियाको रगत बग्न सुरु भएको थियो, त्यसैगरी सुक्छ त महिना महिनामा योनीबाट रगत बग्ने प्रक्रिया ?

सावित्री भण्डारी चितवनमा बसेर मर्यादित महिनावारीको अभियान चलाउने अभियन्ता हुन् । उनलाई पनि करिब ८ वर्ष अघिसम्म महिनावारी सुक्ने प्रक्रियामा आफ्नै शरीरमा आउने फेरबदलबारे थाहा थिएन ।

५५ वर्षीया भण्डारी अविवाहित हुन् । ४४ वर्षको उमेरदेखि उनलाई पिसाब रोक्नै गाह्रो हुने समस्या भयो । अविवाहित अनि बच्चा नै नजन्माएको मान्छेलाई किन यस्तो भयो ? उनले ठाउँ ठाउँ चहारेर डाक्टरसँग चेकजाँच गरिन् । त्यो समय एउटा मात्रै समस्या समय भएन । कहिले छाती अत्यधिक दुख्न थाल्यो । करङ पनि दुखेजस्तो हुन थाल्यो ।

भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डाक्टर सुनिलमणि पोखरेलले भनेझैँ महिनावारी सुक्ने बेला शरीरको रौँसहित सबै अङ्ग बेठिक भएजस्तो लाग्न थाल्यो उनलाई । तर, त्यो अप्ठ्यारो, दुखाइ महिनावारी सुक्ने प्रक्रियाका कारण भएको भन्ने थाहा थिएन ।

पेट छाती जताततै दुख्न थालेपछि उनी काठमाडौँ पुगिन् । टिवी भएको हो कि भनेर विशेषज्ञसँग जँचाइन् । केही समस्या देखिएन । शरीर अझै ठिक थिएन । फेरि वीर अस्पताल पुगिन् । डाक्टरले धेरै जाँच गरेपछि उमेर सोधे कति वर्ष हुनुभयो ? ४४ वर्ष भनेपछि महिनावारी चक्रको बारेमा केही प्रश्न गरे । महिनावारी समयमा नहुने, एकदमै कम रगत बग्ने त उनको समस्या छँदै थियो । सावित्रीको कुरा सुनेपछि डाक्टरले भने, ‘तपाईँलाई महिनावारी रोकिने क्रम सुरु भयो । त्यसैको असर हो यो । केही समयपछि ठिक हुन्छ ।’

डाक्टरले भनेअनुसार मानेर घर त फर्किइन् । तर, उनलाई ४३ वर्षदेखि सुरु भएको यो समस्या छिटै ठिक भएन । ४ महिना त हिँड्नै नसक्ने गरी कमजोर बनायो । ‘४ महिना त सुतेको सुत्यै भएँ, उनले सुनाइन् ।

बिस्तारै ठिक हुँदै जाँदा अर्को समस्या पनि थपियो । एकैछिनअघि सम्झिएको कुरा छिनमै बिर्सिने । ‘मलाई त साथीहरूले आफैलाई पनि बिर्सिन्छेस् कि भन्थे । हुन पनि हो । कहिलेकाहीँ त मलाई आफ्नै शरीरका अङ्गहरू पनि भुल्छु जस्तो लाग्थ्यो’ सावित्रीले भनिन्, ‘४७ वर्षमा महिनावारी पूर्ण सुकेपछि यी समस्या बिस्तारै कम हुँदै गए ।’

महिनावारी नियमित प्रक्रियामा छँदा महिलाहरूलाई झिँजो लाग्ने, बरु त सुकिदिए पनि हुने भन्ने लाग्ने स्वभाविक जस्तै हुन्छ । राधा पोखरेललाई पनि पहिले त्यस्तै लाग्थ्यो । शिक्षक पनि भएकोले महिनावारी र रजनोवृत्ति चक्रबारे जानकार थिइन् उनी ।

तर, रजनोवृत्ति यात्रा उनको लागि सहज भएन । महिनावारी सुक्ने बेला अत्यधिक रगत बग्न थाल्यो । रगत रोकिँदै नरोकिने समस्या भएपछि उनी डाक्टरकहाँ पुगिन् । ‘महिनावारी सुक्न लागेको संकेत भन्ने थाहा भए पनि मलाई सहज रजनोवृत्ति भएन, पोखरेलले भनिन्, ‘रगत अत्यधिक बग्ने समस्या भयो । डाक्टरलाई जँचाउँदा पाठेघर ठिक थियो । औषधि खाएर नै रगत रोक्नुपर्ने अवस्थामा पुगेँ ।’

रगत बग्ने समस्या मात्रै होइन शिक्षक महासंघ चितवनको सहअध्यक्ष, मर्यादित महिनावारी अभियन्ता तथा विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील उनलाई घरबाट बाहिरै निस्किन नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो ।

‘जाँगर, शरीरको ऊर्जा सबै सेलाएजस्तो । केही बहाना बनाएर घरै बस्न मन लाग्ने । कसैसँग बोल्नै नपरे हुन्थ्यो जस्तो लाग्ने, उनले भनिन्, ‘कतिसम्म भने पढाउन विद्यालय जाँदा विद्यार्थीहरू समेत कोही नबोलेहुन्थ्यो जस्तो लाग्थ्यो ।’

शरीरमा आएका यी परिवर्तनले श्रीमान् श्रीमतीबीचको शारीरिक सम्बन्धमा पनि प्रभाव पार्ने राधाको अनुभव छ । महिलाहरू ४० वर्ष कटेपछि धेरै श्रीमान् श्रीमतीबीच सम्बन्धमा समस्याहरू आउने, सम्बन्ध विच्छेदका घटनाहरू हुने कारण एउटा रजनोवृत्ति पनि हो जस्तो लाग्छ उनलाई ।

‘शरीरमा महिनावारी सुक्ने लक्षण देखिन थालेपछि शारीरिक सम्बन्ध पनि राख्न मन नलाग्ने रहेछ, उनले भनिन्, ‘श्रीमानले ममा भएको परिवर्तन बुझ्नु भएकोले हाम्रो सम्बन्धलाई व्यवस्थापन गर्न सक्यौँ । तर, कतिपय परिवारमा यही कारणले समेत समस्या हुने देखेको छु ।’

रजनोवृत्तिको सुरुआतसँगै महिलाका शरीरमा हर्मोनहरुको परिवर्तनको सुरुआत हुन्छ । सामान्यतया ४० कटेपछि महिलाहरूको शरीरमा महिनावारीका लक्षणहरू देखिन थाल्छ । डाक्टर पोखरेलका अनुसार रजनोवृत्तिको प्रक्रिया कसैको ३५ लगत्तै पनि हुनसक्छ । तर, त्यसलाई डाक्टरको भाषामा प्रि मेचुअर्ड मेनोपज भनिन्छ ।

पाठेघरको माथिपट्टि दुई साइडमा डिम्बाशय हुन्छ । महिलाहरूको महिनावारी हुने वा रोकिने दुवै प्रक्रियाको हर्मोन उत्पादन गर्ने डिम्बाशयले हो । यो अङ्गले बिस्तारै हर्मोन उत्पादन बन्द गर्न थालेपछि महिलाहरूले शारीरिक व्यायाम, खानपान तथा जीवनशैली मार्फत शरीरलाई सन्तुलनमा राख्नुपर्ने डाक्टर पोखरेल बताउँछन् ।

यस्तो अवस्थामा एउटा मात्रै समस्या होइन व्यक्ति अनुसार फरक फरक समस्या उत्पन्न हुन सक्छ । जस्तो महिला उद्यमी मञ्च नेपालकी बागमती प्रदेश प्रतिनिधि अर्पणा प्रधानलाई भने महिनावारी नै अनियमित भएको छ ।

उनी दैनिक मिनी प्याड राखेर हिँड्न थालेकी छन् । यो महिना पनि २८ दिन पर महिनावारी धकेलिएको छ । ‘महिनावारी भएको हो कि, भएको हो कि भन्दै हिँड्न जति सकस के होला, उनले भनिन्, ‘यो महिना मेरो २८ दिन महिनावारी धकेलिएछ । मिनी प्याड लगाएर हिँड्ने गरेको छु ।’

त्यस्तै मोती कँडेल ४२ वर्षकी भइन् । अहिले उनलाई महिनावारी रोकिने चक्र सुरु भएको अनुभूति हुन थालेको छ । अहिले जाडो महिना छ । तर, मोतीलाई एकैछिनमा चिटचिट पसिना आउँछ । शरीर तातिएको अनुभव हुन्छ । लगाएको ज्याकेट खोलेर एकातर्फ मिल्काउँछिन् । त्यसपछि एकैछिनमा शरीर शीतल भएको महसुस हुन्छ ।

त्यतिमात्रै होइन एकैछिनमा टनटनी टाउको दुख्छ । यतिधेरै दुख्छ कि मज्जाले बान्ता भएपछि टाउको दुख्न रोकिन्छ । सधैँ नियमित महिनावारी हुने उनको महिनावारी पनि कहिले डेढ त कहिले दुई महिनामा हुन थालेको छ । ‘मेरो आमाको ४५ वर्षमा महिनावारी सुकेको हो, उनले भनिन्, — म ४२ वर्षको भएँ । अब मेरो पनि महिनावारी रोकिन यस्तो भएको हो कि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *