उमागौरी सहकारी प्रकरण: सांसद् पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी – Nepal Press

उमागौरी सहकारी प्रकरण: सांसद् पत्नी अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । प्रतिनिधि सभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मोरङको कर्सीयामा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा उनीविरुद्ध पक्राउ पूुर्जी जारी भएको हो ।

जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा छ ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र समेत पठाएको बुढाथोकीले बताए । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

मङ्सिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । अन्य प्रतिवादी फरार छन् ।

फरार प्रतिवादीको सूचीमा रङ्गेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्व उपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छन् । उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । उजुरीका लागि सार्वजनिक आह्वान पनि भएको थियो । सो आह्वानपछि २० जना ऋणीले आफूहरू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी सहकारीले नविल बैङ्कबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सदस्यले ऋणको किस्ता बापत सहकारीमा बुझाएको रकम बैङ्कमा दाखिला नगरी सञ्चालक आफैले प्रयोग गरेका थिए । सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर