विप्लव नेतृत्वको नेकपाको निचोडः प्रचण्डकै कारण एकता अनिश्चित
चर्चामा सी संस्कृति र आफैँले उत्पादन गरेका कपडाहरुको प्रयोग
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’ निकटका नेताहरुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकताको नजिकक पुगिरहेको विषय सार्वजनिक गरिरहँदा विप्लव निकट नेताहरुले भने प्रचण्डकै कारण तत्काल एकता प्रकृयामा जान नसकिएको निचोडमा पुगेका छन् ।
एकताका लागि धेरै चरणमा माओवादी केन्द्रका नेताहरुले तयारी गरिसकेको विषय विप्लव नेतृत्वको नेकपाको बैठकमै प्रवेश पाएपनि त्यसको सबै दोष भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगाइएको छ ।
मंगलबार नेकपा मुख्य कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा बसेको सो पार्टीको नवौं केन्द्रीय कमिटीको छैठौं नियमित बैठकमै नेकपाका अधिकांश नेताहरुले नेकपा माओवादी केन्द्रसँग एकताको आवश्यकता भएपनि त्यसको वातावरण बिगारेको मुख्य दोष प्रचण्डलाई नै दिइएको सहभागी नेताहरुको भनाइ छ ।
बैठकमा मुख्य एजेण्डाको रुपमा रहेको एकताको विषयमा अधिकांश नेताहरुको धारणा ‘प्रचण्डले नै एकताको पहल नगरेको’ धारणा राखेको बैठकमा सहभागी नेता अनिल बिरहीले नेपाल प्रेसलाई बताए ।
‘हाम्रो बैठकको मुख्य एजेण्डामै एकताको विषय भएको सत्य हो, धेरै साथीहरुले यो विषयमा धारणा राख्नुभयो, हाम्रो लचकताका विषयमा धेरै कुरा उठे तर समग्रमा माओवादी केन्द्र र त्यसको नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्ड कमरेडले नै पहल नगरेको निचोडमा हामी पुगेको सत्य हो, प्रचण्डकै कारण एकता अनिश्चित बनेको निचोडमा हामी पुगेका छौं तर एकता नै नगर्ने वा यसको मिति सकियो भन्ने चाहीँ होइन’ उनले भने ।
उनका अनुसार बैठकले वामपन्थीहरुबीच तत्काल एकता नभए पनि दुरी नबढाउनेगरी अगाडि जाने विषयमा बैठकले निचोड निकालेको छ ।
नेकपाको चालु बैठकमा तीन मुख्य एजेण्डा रहेपनि एकताको विषय विशेष प्राथमिकतामा राखिएको थियो । बैठकमा एकतासँगै विचार सश्लेषण र चुनावी सहभागिताका विषय तथा आन्तरिक उत्पादनको विषय पनि सँगै आएका थिए ।
नेकपाले विचार सश्लेषणको विषयलाई अहिलेको समयमा कसरी क्रान्ति सम्भव छ भन्ने विषयलाई मुख्य एजेण्डा बनाएको विरहीले बताए । ‘ अब रुस र चीनमा लेनिन र माओले गरेको क्रान्तिको कुरा गरेर अहिलेको अवस्थामा संभव छैन, यहाँको अवस्थालाई मध्यनजर गर्दै कसरी फड्को मार्न सकिन्छ ? भन्ने विषय नै विचार सश्लेषण हो, हामी यसैमा केन्द्रीत बनेर छलफल गरेका छौं, यसैलाई आधार मानेर सुत्रबद्ध निचोड निकाल्ने छौं’ उनले भने ।
उनका अनुसार बैठकले अब निर्वाचनका सहभागी हुने विषय पनि टुंगो लागेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने शर्त राखिएको छ । ‘हामी निर्वाचनमा भाग लिने संस्थागत निर्णयमा पुगेका छौं तर त्यसको वातावरण सरकारले बनाउनुपर्यो, हामीविरुद्धका अनेकौं मुद्दा अहिले पनि छन् ती खारेज हुनुपर्यो, सबै साथीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्यो, यसअघि भएका सबै सहमति पूर्ण रुपमा पालना हुनुपर्यो नि’ विरहीले भने ।
मंगलबारको बैठकमा यसअघिबाटै पार्टीले उठाउँदै आएको सी संस्कृतिलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाने निर्णय पनि भएको छ । नेकपाले साम्यवादी संस्कृतिलाई सी संस्कृति भन्दै हरेक व्यक्तिलाई चाहिने वस्तु सकेसम्म आफै उत्पादन गर्ने विषयलाई जोडतोडले उठाएर अघि बढाएको छ ।
नेकपाको बैठक: आफ्नै उत्पादनपछि चर्चामा आफ्नै ड्रेस
नेकपा केन्द्रीय समितिको पछिल्लो बैठकमा आफ्नै गार्मेन्टमा सिलाइएको ड्रेस कोड (सर्ट, पाइन्ट र कोर्ट) अहिले चर्चामा छ । मंगलबार बिहानै सार्वजनिक भएको यो तस्वीरसहितको सन्देशपछि फरक पार्टीमा रहेका नेताकार्यकर्ताहरुले उसैगरी विप्लवलाई सम्मान गरेका छन् ।
धेरैले यो दृश्य नौलो लागेको भन्दै अन्य पार्टीमा बढ्दै गएको भड्किलो कपडाको प्रयोगलाई यसले सुधार्न सक्ने बताएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा संघीय सांसद सूर्य थापाले सामाजिक सन्जालमै यसको स्वागत गरेका छन् ।
उनले लेखेका छन् ‘हरेक पार्टीका आआफ्नै प्रकारका मौलिकता, नविनता र उत्पादनकेन्द्रित प्रयोग र परीक्षण हुँदा बेग्लै प्रकारको प्रतिस्पर्धा सिर्जना हुँदो हो कि ? आफ्नै गार्मेन्टको कपडा तथा आफ्नै सहकारी खेतीको अन्न, मासु, माछा, कुखुरामा आत्मनिर्भर भएपछि पार्टी पङ्तिको भरणपोषणका लागि सायद पछिल्लो समय चन्दामा निर्भर हुनुपरेको छैन होला। सिक्न सकिने यस्ता उदाहरण र दृष्टान्तहरू अनेकका अनेक हुनसक्छन् १ यस्ता अनुकरणीय दृष्टान्तलाई एकीकृत, पूँजीकृत र अवलम्बन गरिनु उचित हुन्छ।’ उनले भनेका छन् ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको नेतृत्व गर्दा मैले ूसी कोअपरेटिभूको बारेमा सुनेपछि सो पार्टीको धारणा पनि पठाउन पत्राचार गरेको थिएँ र महासचिव चन्द स्वयं सहकारी विभागको इन्चार्ज रहेर देशव्यापी कार्यक्षेत्र रहेको बहुउद्देश्यीय सहकारी दर्ता एवं संचालनमा समेत रहेको जानकारी पाएको थिएँ। सहकारी खेती र उत्पादनकेन्द्रित कोशिस पनि त्यतिबेलै अवगत भएको थियो। आज आफ्नै गार्मेन्टको समाचार सुनेर झन् खुशी लाग्यो।’
यो विषयमा आफ्नो धारणा राख्दै शोभाखर पाण्डेले अबको आवश्यकता भनेको उत्पादन र बजारीकरण भएको बताउँदै आजका युवाहरुले आदर्श पढाएर केही हुँदैन भन्ने बुझिसकेको बताएका छन् ।
‘तपाई एउटा भाषणमा भनेको युटुवको जमाना गयो, टिकटकको जमाना छ । जुन ३ घन्टा हैन १५ सेकेन्डमा धारणा निर्माण गर्छन् भनेजस्तोै नेपालमा २० वर्ष लगाएर गरेको डिग्रीभन्दा ३ महिना पढेको कोरियन भाषाले जीवन्त चल्न थाल्यो । यसैले अवको आवश्यकता भनेको उत्पादन र बजारीकरण नै हो’ उनले भनेका छन् ।
शिव रेग्मीले सरकारले स्वदेशी उत्पादनको चीज प्रयोग गर्ने गरी नीति ल्याएपनि चन्दले कार्यान्वयनको शुरुवात गरिसकेको बताउँदै
कपडा उद्योग चलाएर वा केही गार्मेन्टलाइ यसको जिम्मेवारी दिदै सुरक्षाकर्मी, कर्मचारी, राजकीय पद सम्हाल्ने व्यक्तिका कार्यालय प्रयोजनका कपडाहरु ती ती उत्पादकका आउटलेटबाट किन्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव राखेका छन् ।
स्थानीय नुडराज पन्थीले गर्नुपर्ने सबै पार्टी यहि हो तर अरुका गफ मात्र भए बिप्लबले शुरुवात गरेकोमा खुशी लागेको र अब सबैले पछ्याउनुपर्ने सन्देश दिएको बताएका छन् ।
अर्का विश्लेषक प्रकृति अधिकारीले राष्ट्रसेवक कर्मचारीलाई पोशाक भत्ता दिनुको साटो सरकारी गार्मेन्टले उत्पादन गरेको कपडा दिने व्यवस्था गरे धेरै हुने बताएकी छन् ।
‘भएका कपडा कारखाना, जुत्ता कारखाना सबै भत्काई सक्यौँ। नेताहरुले भाषण गर्दा निजीकरण ठीक गरेको भन्थे । त्यस्ता नेता हुन्जेल देश उभो लाग्दैन । अब उत्पादनबाटै समृद्धि खोज्नुपर्दछ’ उनले भनेकी छन् ।
केन्द्रीय समिति बैठकमा १४५ जना केन्द्रीय सदस्य आफ्नै गार्मेन्टमा तयार भएको कालो कोट पाइन्ट र कमिज लगाएर जुटे । शिवगढीमा केन्द्रीय कार्यालयमा स्थापना भएको गार्मेन्टमा सिलाएका युनिफर्म उपलब्ध गराइएको नेता अनिलले बताए ।
नेताहरूमा एकरूपता देखाउन आफ्नै गार्मेन्टमा उत्पादन भएका कपडा लगाएको र कपडा किनेर आफ्नै उद्योगले सिलाउँदा सस्तो र राम्रो पनि हुने उनको भनाइ थियो । अहिले नेकपाले केन्द्रीय कार्यालय रहेको शिवगढीमा करिब १० लाख लगानीमा गार्मेन्ट स्थापना गरेको छ ।
काठमाडौंको कपुरधारामा पनि पार्टीले अर्को गार्मेन्ट स्थापना गरी पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक पर्ने कोट, पाइन्ट, कमिज र ट्रयाक सुट सिलाउँदै आएको उनले बताए । अहिले पार्टीका नेता कार्यकर्ताका लागि कपडा उत्पादन गरे पनि केही समयपछि भने व्यवसायिक रूपमै उत्पादन थाल्ने तयारी रहेको उनको भनाइ छ ।