कांग्रेस र कम्युनिष्टले ३५ वर्षमा देशका १५७ उद्योग बेचेर खाए: उपेन्द्र यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ३५ वर्ष शासन गरेका कांग्रेस र कम्युनिष्टले १५७ उद्योग कलकारखाना बेचेर खाएको आरोप लगाएका छन् ।
सिरहामा आयोजित ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिष्टकै कारण देश कंगाल बन्न लागेको बताएका हुन् ।
उनले कांग्रेस र कम्युनिष्टले उद्योग कलकारखाना मात्र होइन, स्वास्थ्य र शिक्षासमेत बर्बाद गरेको आरोप लगाए ।
अध्यक्ष यादवले भने, ‘विदेशी मित्र राष्ट्रहरुले उद्योग कलकारखाना खोलिदिएका थिए । दशौं हजार मानिसले रोजगारी पाएका थिए, तर कांग्रेस र कम्युनिष्टले ३५ वर्षमा सबै बेचे । कमिसन दिएर उद्योग कलकारखाना किनेकाहरुले पनि चलाउन सकेनन् र अहिले सबै बन्द भइसकेको छ ।’
‘३५ वर्ष अगाडि मात्र ३४० जना विदेशमा काम गर्न गएका थिए’, उनले भने, ‘तर उद्योग कलकारखाना सबै बन्द भएपछि मानिसहरु खाडी मुलुक साउदी अरब, कतार जान थाले । अहिले करिब ७० लाख युवा विदेशमा छन् ।’
उनले ३५ वर्ष अगाडि कंगाल रहेका मुलुकहरु पनि अहिले विकसित भइसकेको सुनाए । उनले उदाहरण दिए, ‘धेरै टाढा जानुपर्दैन । नेपालको साइडमै छ भुटान । त्यतिबेला पढेको थिएँ, संसारकै सबभन्दा पछाडि परेको देश भुटान । तपाईंहरुले पनि पढ्नुभएको होला, तर आज कहाँ पुग्यो भुटान थाहै होला । नेपालमा भन्दा प्रतिव्यक्ति आम्दानी चार गुणा बढी छ । भुटानमा शिक्षा र स्वास्थ्य पनि निःशुल्क छ ।’
गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि पैसामात्र लाग्दैन, भुटानमा कोही पनि बेरोजगार नरहेको अध्यक्ष यादवले दाबी गरे । नेताको अग्रगामी सोचकै कारण भुटान विकसित बनेको भन्दै उनले नेपाललाई कांग्रेस र कम्युनिष्ट मिलेर अझै बर्बाद गर्न लागेको बताए ।
तिमीले पनि तराईका मानिसलाई ढाँटेर खाएकै छौ। मधेशमा तिम्रो सरकार भएको समयमा यो देशको इतिहासमा नभएको भ्रष्टाचार भएको थियो । फुर्ति लगाउने ? बरू छानबिन गर्दा तिमी पनि तानिन्छौ जस्तो लाग्छ ।