रवि लामिछानेलाई अमर्यादित व्यवहार भएको छैन, गलत प्रचार भयो : गृहमन्त्री लेखक (भिडिओ) – Nepal Press

रवि लामिछानेलाई अमर्यादित व्यवहार भएको छैन, गलत प्रचार भयो : गृहमन्त्री लेखक (भिडिओ)

रुपन्देही । गृहमन्त्री रमेश लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन् । उनले वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायित्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए ।

संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ ।

अर्को एक फरक प्रसङ्गमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दाबी गरे । गृहमन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने अपचलन गर्ने हिनामिना गर्ने सयौँ मान्छे जेल गएको बताउँदै अब पनि कसैले उन्मुक्ति नपाउने बताए।

उनले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नगरेको दाबी गर्दै मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए।

‘लाखौँ गरिब मान्छेको अर्बौँ रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन’ उनले भने।

दिनभरि काम गरेर, भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भीड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो, मकै पोल्ने ठेला चलाउनेको न्याय खोइ ? उनले प्रश्न गरे।

गृहमन्त्री लेखकले काठमाडौंमा पक्राउ परेका उनी हवाई जहाजमा पोखरा जान नमानेको बताउँदै चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क भएको बताए।

काठमाडौंबाट पोखरा जाँदा सडकबाटै लैजान भन्ने त्यो बेला रातारात जाऊ भनेका रविजीले त्यो बेला मानवअधिकार हनन भयो नभनेको तर चितवनबाट पोखरा लाँदा मानवअधिकार हनन भयो भन्न नमिल्ने उनको भनाइ छ। ‘तर रवि जीले अदालतसमक्ष यो कुरा भन्नुभएको छैन, बाहिरको कुरा मात्रै हो’ उनले भने।

मन्त्री लेखकले भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै प्रतिप्रश्न गरे । उनले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दाबी गरे ।

गृहमन्त्री लेखकले गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाइल रोक्न प्रहरीलाई दबाब दिने काम बेठीक भएको बताएका छन्। ‘अनुसन्धान र कारबाही प्रमाणका आधारमा गर्ने हो, गृहमन्त्री फेरिँदा निकटका मान्छेको फाइल रोक्ने र अरूको फाइल अगाडि बढाउने प्रवृत्ति गलत हो’ गृहमन्त्री लेखकले भने।

गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको बताए। नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्र र पत्रकारिताको बलियो सम्बन्ध भएको बताए। लेखकले लोकतन्त्रलाई जीवन्त राख्न पत्रकारिता र स्वतन्त्र प्रेसका लागि लोकतन्त्र आवश्यक भएको बताए।

लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै छिट्टै भारत भ्रमण हुने बताए। उनले बिआरआई फ्रेमवर्क ठिक छ भनेर कांग्रेसको कार्य सम्पादन समितिले निर्णय गरेको दाबी गरे।

मुलुकमा अस्थिरता र अप्ठ्यारो अवस्था सृजना भएको बेला तब कांग्रेस एमालेजस्ता ठूला दल एक ठाउँ हुने गरेको बताउँदै लेखकले पछिल्लोपटक मुलुकमा आर्थिक र सामाजिक रुपमा समस्या बढ्दै गएकोले एमाले र कांग्रेसका बीच गठबन्धन बनेको बताए।

उनले सरकार परिवर्तनको कुरा सरकार अस्थिर बनाउन चलाइएको भ्रम भएको बताउँदै दुई दलका बीचमा सहमति भएअनुसार वर्तमान सत्ता गठबन्धन ०८४ सम्म चल्ने दाबी गरे।

‘अर्को देशको नागरिकले के देख्यो र के लेख्यो भन्ने कुराले कुनै अर्थ राख्दैन। जे परिवर्तन हुनुपर्ने हो सम्झौता अनुसार हुन्छ’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *