सरकार एक महिनामै ढल्ने भारतीय रअका पूर्व एजेन्टको दाबीमा के भन्छन् गृहमन्त्री लेखक ?
रुपन्देही । गृहमन्त्री रमेश लेखकले मन्त्री र सरकार परिवर्तन कुनै पनि हालतमा नहुने बताएका छन् ।
केही दिनअघि भारतीय रअका पूर्व एजेन्टले एक महिनामा नेपालको सरकार परिवर्तन हुन्छ भनेर गरेको टिप्पणीबारे रुपन्देहीका पत्रकारहरुले प्रश्न गरेपछि गृहमन्त्री लेखकले नेपालका मामिलामा बाहिरी व्यक्तिले गरेको टिप्पणीको कुनै अर्थ नरहेको बताए ।
गृहमन्त्री लेखकले अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको स्पष्ट पारेका हुन् । ‘यो सरकार कसैले काँहीबाट कोशिस गरेपनि बदल्नेवाला छैन’ गहृमन्त्री लेखकले भने ।
सरकार फेर्ने, मन्त्री फेर्ने हल्ला अस्थिरता चाहनेहरुले कुनाकाप्चाबाट गरेको भएपनि त्यो सफल नहुने उनको भनाइ छ । सरकार बन्न पाएको हुँदैन, सरकार फेरिन्छ भन्ने हल्ला चलाउने प्रचलन बनिसकेको उनले बताए ।
‘यो सरकारलाई साउन कट्दैन भन्थेँ, दशैं तिहार कट्दैन भन्थेँ, त्यो त पूरा भइसक्यो नी’ गृहमन्त्री लेखकले भने –‘प्रधानमन्त्री चीनबाट फर्किन त देउ भन्थेँ, अब भारत गएपछि फेरि यस्तै हल्ला चलाइन्छ, तर सरकार कसैको चाहनाले ढल्दैन ।’
उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला फैलाउने गरेको टिप्पणी गरे । उनले हालै सम्पन्न भएको उपनिर्वाचनले काँग्रेस र एमाले नै पहिलो र दोस्रो दलका रुपमा स्थापित गरेको दावी गर्दै ठूला दुईदल बीचको सहकार्य संविधानको कार्यान्वयनका लागि भएको बताए । । उनले देशका ठूला पार्टीहरु मिलेर सरकार बनेकाले २०८४ सम्म स्थिर रुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाए ।