दाउराले हानेर श्रीमतीको हत्या, दुई छोरा अलपत्र
रुपन्देही । दाङको तुलसीपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका- २ भम्केस्थित एकता टोल बस्ने ३२ वर्षीय चित्रबहादुर बुढाथोकीलाई २९ वर्षीया श्रीमती हस्तीकुमारीको हत्या गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
चित्रबहादुरले आफ्नै घरको बैठक कोठामा दाउरा प्रहार गर्दा हस्तीकुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका- ७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार १ वर्ष अघिदेखि उनीहरुबीच विवाद हुँदै आएको र मंगलबार बढी विवाद भएको थियो । त्यसको भोलिपल्ट बिहान साढे १० बजे दाउराले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।
वडाध्यक्ष भीमबहादुर योगीका अनुसार चित्रबहादुर र हस्तीकुमारीका दुई छोरा छन् । उनीहरुबीच केही समययता विवाद भइरहेको स्थानीयले धेरै पटक सुनाएको, तर बुधबार यस्तो घटना भएको सुनेको उनले बताए ।
श्रीमतीको हत्या गरेर चित्रबहादुर जेल जाने भएपछि ८ वर्ष र ५ वर्षका दुई छोरा अलपत्र परेको वडाध्यक्ष योगीले बताए ।