आधुनिक र भुटनदेवीलाई ‘मर्ज’ गरिने, १० हजार विद्यार्थी पढ्ने विद्यालय बनाइने – Nepal Press

आधुनिक र भुटनदेवीलाई ‘मर्ज’ गरिने, १० हजार विद्यार्थी पढ्ने विद्यालय बनाइने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पाँच हजार विद्यार्थीलाई एउटै विद्यालयमा अध्ययन गराउनको लागि दुई विद्यालय मर्ज गर्दै “मेघा” विद्यालय निर्माणको औपचारिक पहल सुरु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको जिल्लाकै पुरानो मध्यको भुटनदेवी मावि र आधुनिक राष्ट्रिय माविलाई ‘मर्ज’ गरी एउटै विद्यालयको अवधारणामा लगिने गरी औपचारिक तयारी सुरु गरिएको हो ।

दुवै विद्यालय व्यवस्थापन समितिको एकीकरणमा जाने सहमतीय निर्णयसहित हेटौँडा–४ वडा कार्यालयको सिफारिसमा हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामालाई औपचारिक रूपमा बुझाइएपछि दुवै विद्यालयको मर्जको प्रक्रियाले थालनी पाएको हो।

जिल्लाकै दुई सामुदायिक विद्यालयको मर्ज हुने प्रक्रियाले मेघा विद्यालय बनाउने सरकारको अभियानलाई समेत फाइदा पुग्ने अनुमान गरिएको छ । एकीकरणको मुद्दा उठान गर्ने हेटौँडा–४ का वडाअध्यक्ष नवीन सिग्देल भन्छन्–‘दुई विद्यालय एकीकरण भएपछि नजिकैका अरू पनि समावेश गर्न सकिन्छ ।’

यी दुई ठुला विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिने, प्रशासनिक खर्च कम हुने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने, हेटौँडालाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने वडाध्यक्ष सिग्देलको भनाई छ ।

मेघा विद्यालयको अवधारणाबारे हेटौँडा उपमहानगरपालिका पनि सकारात्मक रहेको छ । हेटौँडाका दुई ठूला विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढेको र दुवै विद्यालय व्यवस्थापन समितिको निर्णयसहित वडाको सिफारिस लिएर नगरप्रमुखसमक्ष पुगेका टोलीलाई नगरप्रमुख लामाले यो राम्रो काम भएकोले यसलाई चाँडोभन्दा चाँडो प्रक्रियामा लगिने बताइन् ।

दुई हजार ८ सर विद्यार्थी भएको आधुनिक र २ हजार २ सय विद्यार्थी भएको भुटनदेवी मर्ज हुनासाथ ५ हजार विद्यार्थी पुग्ने छन् । आधुनिकले विद्यालयमा कक्षाकोठा अभाव हुँदा प्रत्येक वर्ष भर्नाको समयमा करिब १ हजार ५ सय भन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न सकेको छैन । तर मर्ज भएपछि आवश्यक सबै भौतिक पूर्वाधार पुग्ने आधुनिक माविका प्रधानाध्यापक रामसागर गुरागाईँले बताए ।

यी दुई विद्यालयले आफूलाई ‘मर्ज’ गरेर देशको सबैभन्दा ठुलो विद्यालय बनाउने लक्ष लिइएको सरोकारवालाहरूले जनाएका छन् । हाल देशको सबैभन्दा ठुलो विलयको रूपमा बुटवलको कालिका ज्ञानसागर मावि रहेको छ । उक्त विद्यालयमा आठ हजार विद्यार्थीहरू अध्ययन गर्ने गरेका छन् । तर हेटौँडामा रहेको यी दुई ठुला विद्यालय एकीकरण भएको अवस्थामा १० हजार विद्यार्थी पुर्‍याउन कुनै पनि समस्या नहुने दुवै विद्यालयको बुझाई रहेको छ ।

भुटनदेवीमा प्राविधिक तर्फका विद्यार्थीहरू पनि अध्ययन गर्ने गरेका छन् भने दुवै विद्यालयले नेपाली र अंग्रेजी माध्यमबाट विद्यार्थीहरूलाई अध्यापन गराइरहेको सन्दर्भमा एकीकरण प्रक्रियाले दुवै विद्यालयहरू थप उत्साहित भएका छन् ।

गुणस्तरीय शिक्षाको हिसाबले पनि आधुनिक तथा भुटनदेवी दुवै जिल्लाका अब्बल विद्यालय भएको कारण पनि दुवै विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गराउन हेटौँडाका भविभावकहरुको सधैँ भिड हुने गरेको छ । यसकारण पनि दुई विद्यालयको मर्ज हुने प्रक्रियाले यहाँका अभिभावकमा समेत उत्साह थपेको आधुनिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *