प्रधानमन्त्री र सचिवालयलाई थाहै नभएको भेटघाट बालुवाटारमा कसले मिलायो ? – Nepal Press

प्रधानमन्त्री र सचिवालयलाई थाहै नभएको भेटघाट बालुवाटारमा कसले मिलायो ?

राज्य व्यवस्था सभापति खतिवडा र एमाले मुख्य सचेतक महेश बर्तौला भन्छन्– प्रधानमन्त्रीले चासो नदिएको विषयमा अस्वभाविक चासो राखेका भनेर भ्रामक प्रचार गरियो,समितिका कसैलाई पनि बालुवाटारमा बोलाइएको छैन

काठमाडौं । कतिपय मिडियाको समाचार अनुसार आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सत्तापक्षीय सांसदहरूसँग भेट हुनुपर्थ्यो । तर त्यो समयमा प्रधानमन्त्री ओली भने नियमित स्वास्थ्य जाँचका लागि अस्पतालमा थिए ।

प्रधानमन्त्रीलाई थाहै नभएको र चासो समेत नदिएको विषयमा राज्य व्यवस्था समितिका सदस्यहरूलाई भेट्न बोलाएको भनेर गरिएको प्रचारप्रति सचिवालयले आश्चर्य व्यक्त गरेको छ । प्रधानमन्त्रीले मिडियाका समाचारप्रति आश्चर्य जनाउँदै कसले बोलायो ? भन्ने प्रश्न गरेको सचिवालय स्रोतले जनायो ।

सचिवालयका मिडिया विज्ञ रामशरण बजगाईँले भने- प्रधानमन्त्रीलाई थाहा पनि छैन, उहाँको आज १० बजे नियमित तालिका अनुसार अस्पताल जानुभयो । तर १० बजे सत्तापक्षका सदस्यलाई बोलाएको भनेर समाचार आएपछि हामी पनि अचम्मित भयौँ । यस्ता हुँदै नभएका भ्रम फैलाएर कसलाई के फाइदा हुने हो हामीलाई अचम्म लागेको छ ।

केही मिडियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूलाई प्रधानमन्त्रीले बोलाएको भनेर समाचार आएको थियो ।

राज्य व्यवस्था समितिका सदस्य समेत रहेका एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको निवास वा कार्यालयबाट आफूहरूलाई बोलावट नभएको र यसबारेमा प्रधानमन्त्रीले अहिलेसम्म आफूसँग समेत चासो नराखेको बताए ।

बर्तौलालले नेपाल प्रेससँग भने- समितिमा विचाराधीन विधेयकहरू चाँडो अघि बढुन् भन्ने बाहेक फलानो विधेयकमा यसो गरौँ भनेर अहिलेसम्म प्रधानमन्त्रीले भन्नुभएको छैन । म मुख्य सचेतक हुँ,मलाई समेत केही भन्नुभएको छैन । प्रधानमन्त्रीले बोलाएर अस्वाभाविक चासो दिएको भन्ने जसरी माओवादीनिकट पत्रिकाबाट प्रचार गरियो यसबाट हामी अचम्मित भएका छौँ । हुँदै नभएको र प्रधानमन्त्रीले नबोलाएको कुरा किन प्रचार गरियो ? प्रधानमन्त्रीले बोलाएको भए को को गए त बालुवाटार ?

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पनि प्रधानमन्त्रीले सत्तापक्षका सांसदहरूलाई बोलाएको भन्ने प्रचार गलत रहेको बताएका छन् । आवश्यक परे प्रधानमन्त्रीसँग आफूले समय लिएर कुरा गर्ने भनेको विषयलाई गलत ढंगले प्रचार गरिएको उनको भनाइ छ ।

बालुवाटार स्रोतका अनुसार सभापति खतिवडाले केही दिन अघिदेखि मुख्य सल्लाहकार विष्णु रिमालमार्फत प्रधानमन्त्रीसँग भेट्न समय मागेका थिए ।

रिमालले प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई समय मिलाउन भनौँला भन्ने जवाफ दिएबाहेक समितिका सदस्यहरूलाई भेट्ने कुरा कहिल्यै नभएको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री र सचिवालयलाई थाहै नभएको भेटघाट बालुवाटारमा कसले मिलायो ?

  1. हो अहिले नेपालमा यस्तै अफवाह फैलाउने काम माओवादी र युट्युवरहरूले गरिरहेका छन् । केही भारतीय दलाल पत्रकारहरू पनि यसलाई मलजल गर्दैछन् । यस्तो अफवाह एमाले र ओलिप्रति मात्र केन्द्रित छ किनकी एमालेलाई कमजोर बनाउन पाईयो भने यो देशमा राज गरौंला भन्ने स्वदेशी र विदेशी दलाल, प्रतिक्रियावादीहरूलाई छ । अरू त विकाउ माल हुन् । नेपाली जनताले साच्चै स्वाभिमानपूर्वक नेपालको विकास चाहाने हो भने ओलि र एमाले बाहेकलाई रोज्नु नै हुँदैन । अरूले दलाली गर्ने र देश कमजोर बनाउने बाहेक केही गर्दैनन । यो एमाले वा ओलिको पुच्छर भएर भनिएको होईन । उनीहरूको अहिलेसम्मको काम, उनीहरूको विचार , इमानदारिता, देशको माया देखेर भनिएको हो । त्यसैले यस्ता अफवाह फैलाउने दलालहरूलाई निमिट्यान्न पारी एमाले र ओलिलाई नेपाली जनताले साथ दिनुपर्छ ।

    1. यो देशको स्वाभिमानलाई उचो राख्ने एमाले र देशलाई कमजोर बनाउने अरू तत्वबीचको लडाईको एक हिस्सा हो । चीनतर्फ नाका खोल्दा भारतीय एकाधिकार र हैकम खतम हुन्छ । त्यो न भारतलाई मन पर्छ न यसबाट जिविका चलाईरहेकालाई मन पर्छ । यसैको लडाई स्वरूप एमाले र ओलि विरूद्व यस्ता अफवाह फैलाईन्छन् । हण्डी खाएर फैलाइने यस्ता अफवाह पत्याउने त कुरै छोडौं यस्ता फैलाउने तत्व विरूद्व नेपाली जनताले प्रतिकार समेत गर्नुपर्छ । मैले यस्तै प्रतिकारको प्रयास स्वरूप यो comment लेखेको हुँ । जीवन स्वाभिमान पूर्वक बाँच्नुपर्छ । कसैको गुलाम हुनु भनेको पशुको जीवन बाँचेजस्तो हो । त्यसैले मानवजस्तो चेतनशील भएर बाँचौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर