औद्योगिक क्षेत्रमा तालिकाबिनाको लोडसेडिङ ! प्राधिकरणलाई ६ सय मेघावाट विजुली अभाव – Nepal Press

औद्योगिक क्षेत्रमा तालिकाबिनाको लोडसेडिङ ! प्राधिकरणलाई ६ सय मेघावाट विजुली अभाव

उद्योगीहरु भन्छन्– भारतबाट महंगोमा किनेर भए पनि विद्युत उपलब्ध गराउनुपर्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा फेरि अघोषित लोडसेडिङ गर्न थालेको भन्दै उद्योगीहरुले विरोध जनाइरहेका छन् । पीक आवर (बेलुका ६ बजेदेखि ९ बजेसम्म) मा उद्योगमा विद्यूत आपूर्ति बन्द हुने गरेको प्राधिकरणले पनि स्वीकारेको छ ।

नेपाल विद्युत प्राधिकरणका चन्दनकुमार घोषले हिउँदमा ६ सय मेगावाट विद्युतको अभाव भएको बताए ।

उनले भने, ‘नेपालभर अहिले करिब २ हजार मेगावाट विद्युतको माग रहेको छ । तर, अहिले हामीसँग १ हजार ४ सय मेगावाट मात्रै विद्युत भएकाले नै औद्योगिक क्षेत्रमा लाइन कटौती गर्न पर्ने भएको हो । पिक आवरमा उद्योगमा १ देखि डेढ घण्टा विद्युत कटौती हुन्छ ।’
प्राधिकरणले उद्योगमा लोडसेडिङको तालिका भने ननिकाल्ने उनको भनाइ छ ।

घोषले भने, ‘यही समयमा हुन्छ भन्ने कुनै तालिका सार्वजनिक हुँदैन । पीक समयमा पनि सबैभन्दा धेरै माग भएको बेला उद्योगमा लाइन काटौती हुने हो ।’

नेपाल विद्युत प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत माग हुने साँझको समय ९पीक० मा औद्योगिक क्षेत्रको विद्युत केही कटौति हुने बताइसकेको छ ।

पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत आयात गर्न नपाएको र चिसोका कारण यही समयमा विद्युतको माग बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

उनले भने, ‘केही उद्योगमा पीक टाइममा लाइन दिन नसकिने अवस्था आएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा र भातबाट विद्युत आयात गर्न नसक्दा उद्योगमा बत्ति दिन नसक्ने अवस्था आएको हो । भारतले पीक समयमा आफ्नो देशमा नै विद्युत चाहिने भएकाले नेपाललाई दिएको छैन । नेपाललाई मात्रै होइन भुटानलाई पनि पीक समयमा विद्युत दिएको छैन ।’

२०२५ मार्च १६ देखि जुन ३० सम्म सोलार आवर अर्थात बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने गरी भारतले स्वीकृति दिएको कुलमानले बताए ।

प्रधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटाउती हुने भएपनि अन्य उपभोक्ताको घरमा भने विद्युत आपूर्तिमा केही समस्या नरहेको बताएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका क्षति पुर्याएको थियो । तामाकोशीबाट विद्युत उत्पादन बन्द र भारतबाट आयात गर्न नपाएको कारणले नै उद्योगमा लाइन दिन नसकिने प्राधिकरणले बताएको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (२०२५ मार्च १५) सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाट विद्युत आयात अनुमति दिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल विद्युत प्राधिरणले उद्योगमा लाइन काट्नु ठिक नरहेको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरणले विद्युत दिन सकिदैन भन्न मिल्दैन । केही महंगो पर्ने भएपनि भारतबाट किनेर नेपालका उद्योगहरुलाई विद्युत दिनु पर्ने उसको दाहित्व हो । तर, प्राधिकरण नै उद्योगमा नै लाइन काट्ने भनिरहेको छ ।’

एमाले र कांग्रेसको सरकार बनेपछि बस्तु उत्पादन केही वृद्धि भएर बजार चलायमान भए पनि फेरि उद्योगमा नै लाइन काट्ने भनेपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने उनको आँकलन छ ।

‘प्राधिकरणले ढेड घण्टा विद्युत नदिने भनिरहेको बेला उद्योगमा ५ घण्टाभन्दा धेरै लोडसेडिङ भइरहेको छ । लोडसेडिङको कुनै तालिका पनि दिएको छैन,’ ढकालले भने ।

नेपाल उद्योग परिसघंका अध्यक्ष राजेशकुमार अग्रवाल नेपाल विद्युत प्राधिकरणले पीक समयमा मात्रै लोडसेडिङ हुने भने पनि उद्योगमा विहान र बेलुका नै लोडसेडिङ भइरहेको बताए ।

उनले भने, ‘प्राधिकरणले औपचारिक रुपमा नै लोडसेडिङ हुने भनेर हिजोबाट मात्रै भन्यो । हामीले केही समयदेखि तिरन्तर उद्योगमा लोडसेडिङ भोगिरहेका छौं । माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन नभएको कारणले लोडसेडिङ भएको भनिएको छ । यसभन्दा पहिले त तामाकोशीबाट विद्युत उत्पादन भइरहेको थियो । त्यो बेला पनि उद्योगमा लोडसेडिङ नै थियो ।’

अहिले भारतबाट किन्दा महंगो पर्ने भएर प्राधिकरणले विद्युत नै नकिनेको उनले दावी गरे । कार्यकारी निर्देशक कुलमान घिसिङले नै २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्य गरेका थिए । भने, देशभर लोडसेडिङको अन्त्य २०७५ वैशाखबाट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *