लुम्बिनीमा २ वटा विद्युतीय बसको परीक्षण सञ्चालन शुरु (भिडिओ)
रूपन्देही । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटामध्ये २ वटा बस विहीबारदेखि सञ्चालन शुरु गरेको छ ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ल्याइएकामध्ये २ वटा बसको परीक्षणका लागि सञ्चालन शुरु गरिएको हो ।
एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन ।
दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले विहीबारदेखि परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन शुरु गरेको हो ।
रुपन्देही क्षेत्र न। ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सांसद सिके गुप्ता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विद्युतीय बसको शुभारम्भ गरेका हुन् ।
बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिनसक्नेछन् । तर बसभाडा भनेर पैसा लिइनेछैन ।
बस सेवाको परीक्षण सञ्चालन शुभारम्भमा सांसद घिमिरेले कानुनी अभावका कारण सञ्चालनमा नआएको विद्युतीय बस दीगो रुपमा सञ्चालन हुने बताए । उनले लुम्बिनी विकास कोषले बस सञ्चालन गर्दा आफ्नो सम्पत्तिको सदुपयोग गरेको ठहर हुने बताउँदै यसको मोडालिटीले यात्रुलाई सेवा दिने विश्वास व्यक्त गरे । सांसद घिमिरेले लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउँदा त्यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले अहिले परीक्षण स्वरुप दानपेटिका राखेर २ वटा बस सञ्चालन गरिएको बताए । उपाध्यक्ष डा। लामाले सेतो नम्बर प्लेटलाई हरियो बनाउन आफूहरुले पटक पटक पहल गर्दा पनि नभएको बताउँदै अहिले संघीय मन्त्री, मुख्यमन्त्री र सांसदहरुले समेत सञ्चालनका लागि निर्देशन गरेपछि यात्रुसँग पैसा नलिनेगरी दानपेटिकाको विधिमार्फत सञ्चालन थालिएको बताए ।
उनले कानुनी अड्चनका कारण सञ्चालन गर्न नसकेको बताउँदै कानुन देखाएर रोक्ने काम नगर्न प्रशासनको ध्यानआर्कषण गराए ।
यस्तै पूर्वमन्त्री एवम् लुम्बिनी क्षेत्रका प्रदेश सांसद सिके गुप्ताले विद्युतीय बस सञ्चालनमा आउनु निकै खुशीको कुरा भएको बताउँदै निरन्तरताको शूभकामना दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दाताले दिएको विद्युतीय बस सञ्चालनका लागि प्रशासनका तर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले बसको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले हरियो नम्बर प्लेटमा रुपान्तरण गर्न नसक्दा बस सञ्चालन गर्न नसकेको बताउँदै दीगो सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
यस्तै कार्यक्रममा सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश (सिपि) श्रेष्ठ, लुम्बिनी होटल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बोल्दै पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुने बताए ।
त्यसो त विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो ।
सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको कोषाध्यक्ष भट्टराईले बताए । परीक्षण सञ्चालनमा सांसद घिमिरेसहित कोषका पदाधिकारी, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, पर्यटन व्यवसायीले दानपेटिकामा पैसा जम्मा गरेर लुम्बिनी परिक्रमा गरेका थिए ।
यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए ।
के कानूनी अभावले सञ्चालनमा नआएको ? वाहियात कुरा नगरौं । कानून नभए छिटो ल्याएर उहिल्यै चलाउनु पर्दैन ? अनि शुल्क पनि राखौं तर कम । चालक, सहचालक र मर्मत खर्चको अभाव भनेर फेरि बन्द गर्न किन नि निशुल्कको नाटक ? काम नभएका मान्छे चढेर वाक्क लगाउँछन् ।