बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यकः मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन ।
उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल योजना छनोट गर्नु पर्नेमा जोड दिए । माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नुपर्ने बताए । मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेट माथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए ।
उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्यो तर पुलको सख्या ६५३ रहेको भन्दै यो बजेटले पुल बन्न नसक्ने बताए । योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनाहरुलाई व्यवस्था गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको बताए ।
उनले सरकारले पूर्वाधार निर्माणका आयोजनाहरुलाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रमा समस्यामा कमी आउने बताए ।
मन्त्री दाहालले भने, ‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोजले बनाएको योजना बैंक मार्फत लिएर काम गर्नु पर्नेमा सरकारले वेवास्था गरेका छौं । त्यसलाई सुधार गर्न आवश्यक छ । सरकारले बजेटमा आयोजनाहरु ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी छ । आयोजनाहरु छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिने हुनु पर्छ । त्यति मात्रै नभएर प्राथमिकताका आधारमा छनोट भएका आयोजनाले उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ ।’
मन्त्री दाहालले मुलुकमा रहेका रुग्ण आयोजनाहरुलाई लोमा समय राख्न नहुने पक्षमा सरकार रहेको बताए । उनले निर्माण व्यवसायीहरुसँगको सहकार्यमा मन्त्रालयले रुग्ण आयोजनाको विषयलाई टुङ्गोमा पुर्याउने बताए । उनले निर्माण व्यवसायीहरुको भुक्तानीलाई पनि सरकारले निरन्तर रुपमा भुक्तानी दिइरहेको बताए । उनले निर्माण व्यवसायीहरुको ३ अर्ब भुक्तानी बाँकी रहेको भन्दै सरकारले केही दिनभित्रै भुक्तानी दिइसक्ने उल्लेख गरे ।
उनले पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले नारायणगढ–बुटवल सडक निर्माणको काम सुरु भएको बताए । उनले ठेकेदार कम्पनीले सडक निर्माणको काम अघि बढाउनेमा विश्वास रहेको बताए ।
उनले पूर्वाधार विकास विना मुलुकको अर्थतन्त्रको विकास हुन नसक्ने दाबी गरे । मन्त्री दाहालले मुलुकको आर्थिक विकासको लागि पूर्वाधारको विकासलाई पनि सरकारले प्राथमिकता दिएको पनि बताए ।