प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिए उहाँलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ : उपप्रमुख डंगोल – Nepal Press

प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिए उहाँलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिनका लागि सिफारिस गरेपछि उपप्रमुख सुनिता डंगोलले त्यस विषयमा प्रतिक्रिया दिएकी छन् ।

महानगरपालिकाले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गरिएको थियो । कारबाही प्रक्रियाका लागि सम्वन्धित निकाय भन्दै सिफारिस गरिएको विज्ञप्तिमा भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको आरोप लगाएको छ ।

सो विषयमा प्रतिक्रिया दिदैँ उपप्रमुख डंगोलले निष्पक्ष छानविन हुनुपर्ने बताइन् । ‘निष्पक्ष छानविन भएपछि दोषिलाई कारबाही हुनुपर्छ, त्यसमा दुईमत भएन’, उनले भनिन्, ‘यदि कसैले त्यहाँ षडयन्त्र रचेको रहेछ भने त्यसको पनि छानविन हुनुपर्छ । त्यसमा क–कस्को सहभागी छ त्यसको पनि निष्पक्षरुपमा छानबिन हुनुपर्छ ।’

उनले त्यसमा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरुको पनि छ भन्ने पत्ता लगाएर उनीहरुहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरु देखिए भने त्यस उपर पनि छानविन गरी कारबाही हुनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, प्रमुख प्रशासकीय अधिकृतको कैफियत देखिएमा तुरुन्तै उहाँलाई कामपाको जिम्मेवारीबाट मुक्त गरिनु पर्दछ र यसमा अरु क–कस्को संलग्नता छ त्यो पनि निष्पक्ष छानविन गर्नुपर्छ । यदि यो विषयमा संगठित भ्रष्टाचार भएको रहेछ भने त्यस उपर पनि कारबाही हुनुपर्छ ।’

उनले त्यस विषयमा क–कस्को के–के मा संलग्नता रही भ्रष्टाचार गरिएको हो त्यस उपर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै छानविन गर्नु पर्नेमा जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *