केराकै सोमरससहित ४२ वटा परिकार खुवाउने इको बनाना रिसोर्ट
पर्यटन व्यवसायमा जमेका हिरा–सरलाको जोडी केरा बगानमै रमाउँदै
रुपन्देही । धेरैलाई विश्वास नलाग्नसक्छ बुटवलको व्यस्त बजारमा आफ्नै केरा खेती र त्यसैको अधिकांश परिकार बनाएर रिसोर्ट चलाइएको विषय ।
केही वर्षअघिसम्म ग्रेगेटो मात्रै भएको जमिनमा यहाँका मेहेनती जोडीलाई यसैलाई आधुनिक र वातावरणमैत्री रिसोर्ट बनाएर यसका पारखीहरुलाई खुसी बनाउन थालेका छन् ।
पूर्वशिक्षक रहेका हिराध्वज शाह र सरला शाहलाई आर्थिक रुपमा कुनै रकम कमाउन र संकलन गर्नका लागि व्यवसाय गर्नुपर्ने अवस्थामा छैनन् । दुई छोरा र दुई बुहारी रहेका उनीहरुको जेठा छोरा काठमाडाैंमा पत्रकार तथा अध्यापक छन् भने बुहारी अष्ट्रेलियामा छन् र कान्छा छोरा र बुहारी जर्मनीमा जमेर बसेका छन् ।
लामो समय दुवै जनाले शैक्षिक क्षेत्रमा रहेका शाह दम्पतिले साढे दुई दशकयता होटल व्यवसायमार्फत पर्यटन क्षेत्रमा काम गरिरहेका छन् । उमेरले ६५ नाघेका हिराध्वजलाई अहिले पनि पर्यटन क्षेत्रमा केही नयाँ अभियानको थालनी गर्ने हुटहुटीले छाडेको छैन । त्यही सोँचका साथ अहिले उनीहरु यस क्षेत्रमै नमुना प्रकारको रिसोर्ट संचालनमा ल्याएर उसैगरी चर्चामा आएका छन् ।
शाहका जेठो छोरा ३९ वर्षीय मौसम शाह हिमालय टाइम्सको अंग्रेजी संस्करणका सहसम्पादक हुन् भने नाथम लगायतका कलेजमा अध्यापन गर्दछन् । उनकी श्रीमति सीमा मल्ल अष्ट्रेलियामा बस्न थालेको लामो समय भयो । उनी त्यहाँको रजिष्टर नर्स हुन् ।
अहिले उनले सिड्नी युनिभर्सिटीबाट पीएचडी अध्ययन गरिरहेकी छन् । शाहका कान्छो छोरा मनसुन र बुहारी ममता लण्डनमा बस्छन् । एमबीए पढेका छोरा र आरडीमा एम गरेकी बुहारी दुई छोराहरु रहेका उनीहरु उतै जमेर बसेका छन् । अहिले मनसुनले अनलाइनबाट बुवाआमाको व्यवसायलाई मनिटरिङ भने गरिरहन्छन् ।
‘रिसोर्टलाई आधुनिक प्रविधिमा कसरी लैजाने विषयमा कान्छो छोराको विशेष चासो छ, हामी उमेरले पनि बुढो भइयो, खुरुखुरु काम गर्न सकिन्छ तर प्रविधिका विषयमा अपडेट हुन सकिने रहेनछ’ हिराध्यवजले भने ।
शाह परिवारले ०५८ सालदेखि बुटवलको लक्ष्मीनगरमा रहेको र पहिले नै व्रिटिशहरुको व्यवस्थापनमा बनेको बीटिआई गेष्ट हाउस दुई दशकयता चलाइरहेका थिए तर दुई वर्षअघि त्यसको नवीकरण नभएपछि उनीहरुले त्यहाँकै भन्दा अझै नयाँ मोडलमा अहिले त्यसलाई छाडेर आफ्नै जमिनमा नयाँ प्रकारको रिसोर्ट बनाएका हुन् ।
लक्ष्मीनगरमा पनि उनीहरुले चलाएको गेष्ट हाउस अरुको भन्दा फरक प्रकृतिको थियो । व्यस्त बजारभन्दा थोरै माथि पहाडको घेँचमा रहेको त्यो होटलको वरिपरी पूरै सालका रुखहरुले ढाकेको थियो । प्राकृतिक वातावरणमा दुई दशक गेष्ट हाउस चलाएको अनुभव र त्यहाँ रहँदा आउने अधिकांश विदेशीको सम्पर्कका आधारमा पनि उनीहरुलाइृ अहिलेको मोडको पर्यावरणमैत्री रिसोर्ट खोल्न जाँगर चलेको हो ।
अंग्रेजी भाषामा पोख्त रहेकी सरला विदेशी पाहुनासँग सहज रुपमा आफ्ना विषयहरु राख्नसक्ने भएकाले पनि एकपटक आएका पाहुना दोहोरिएर आउने गर्दछन् ।
त्यसो त हिराध्वज होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष नै बनेर देशभरका व्यवसायीका अधिकारका लागि लडेका मान्छे हुन् । महासंघको कार्यक्रम लिएर देशका अधिकांश जिल्ला र शहरमा पुगेका उनी त्यहाँको पर्यटन व्यवसायसँग पनि साक्षात्कार छन् ।
आन्तरिक व्यवस्थापनमा सरला र जनसम्पर्कमा हिराध्वजको राम्रो सम्बन्ध भएकाले पनि यो व्यवसायमा उनीहरुलाई सहज भएको हो ।
बुटवलको बीच भागमा रहेपनि केही वर्ष अघि ग्रेगोटोले भरिएकोजस्तै देखिने ठाउँमा उनीहरुले कमाएको रकमले १० कठ्ठा जग्गा किनेर राखेका थिए ।
त्यही जग्गामा अहिले उनीहरुले केरा, कुरिलोलगायतका थुप्रै जडीबुटी तथा तरकारीहरु लगाएर त्यहाँ आउने पाउनालाई त्यसैको स्वाद चखाउने गरी रिसोर्ट संचालन गरेका हुन् ।
बुटवल –१४, पथ्थरगन्ज, नहरपुरमा (बेल्वास झुलुङ्गे पुल नजिक) २०८० सालमा स्थापना भई सन्चालनमा आएको ईको–वनाना ( केराको परिकार) रिसोर्टमा विभिन्न स्वादमा केराको ४२ वटा परिकार तयार गरिन्छ ।
केरा पारखीहरु, स्वदेश तथा विदेशका पाहुनाहरु, रिट्रीट, सेमिनार, वार्वेक्यूलगाएत मनोरन्जन गर्न जाने अतिथिहरुलाई आफ्नो उत्पादनबाट तयार गरिएका केराको चिप्स, पकौडा, ममो, रोटी, छोइला, भुजुरी, मनोरञ्जन गर्ने केराकै सोमरस (तत्व) यो रिसोर्टमा तयार गरिएको छ ।
वास बस्नका लागि एसि रुम, जेनेरल रुम, सेमिनार हल, ओपन सेड, वार्वेक्यू एरिया, ओभरहेड प्रोजेक्टर र साउन्ड वक्सको समेत व्यवस्था रहेको संचालन सरला शाह बताउँछिन् । करिव १० कठ्ठा क्षेत्रफलमा रहेको रिसोर्टमा आफ्नै केरा वगान, ड्रागन फ्रुट, चट्नीको लागि पुदिना, तरकारी आदि उत्पादन गरी विशुद्ध रैथाने खानासमेत उपलव्ध गराइरहेको उनको भनाइ रहेको छ ।
हिरा–सरला बिहान सबेरैदेखि रिसोर्टको वरिपरी रहेको केरा, कुरिलो तथा अन्य तरकारीको गोडमेल तथा यसकै सुरक्षामा लागिरहेका हुन्छन् । रिसोर्टमा आउने पाहुनाको सबै परिकार र उनीहरुले पाएका सेवाहरुका विषयमा उनीहरुले प्रत्यक्ष चासो लिइरहेका हुन्छन् ।
घरायसी वातावरणमा बास बस्न, केराको विभिन्न प्रकार र आइटमको स्वाद लिन र वातावरणसहित विभिन्न क्षेत्रमा अध्ययन गर्नका लागि यस्तो क्षेत्र बनाइएको उनको भनाइ छ । संचालक शाहका अनुसार अहिलेसम्म यहाँ २ करोडभन्दा बढी लगानी भइसकेको छ ।
‘हामीलाई अब दैनिक काम गरेर कमाउनभन्दा पनि अहिलेसम्मको अभियानलाई निरन्तरता देऊ भन्ने हो, कृषि र पर्यटन क्षेत्रबाट समृद्धि खोज्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि हाम्रो यो अभियान हो’ हिराध्वजले भने ‘अब हामीले चलाएको विजनेश छोराबुहारीले आएर चलाउनसक्छन् भन्ने लाग्दैन, उनीहरुले पनि सकेसम्म अब त्यसो नगरे हुनेथियो भन्ने आशय राख्छन् तर दैनिक शारीरिक व्यायाम पनि हुने र दिन कटाउन पनि सजिलो हुने अनि यो क्षेत्रमा लाग्नेलाई केही न केही सन्देश दिनका लागि पनि यसरी काम गर्न थालिएको हो ।’
अहिले यहाँ आन्तरिक पर्यटनको रोजाई र चासो बन्न थालेका यहाँ पुग्ने जोकोहीले बताउने गरेका छन् । केरा आफैमा रसिलो, पोसिलो हुने र यहाँको वातावरणले आनन्दित बनाउने वातावरण संरक्षण अभियान्ता शान्ता पोखरेल बताउँछिन ।
शाह दम्पतिले यो व्यवसाय सुरु गरेपछि अहिले कृषि र पर्यटन क्षेत्रका धेरै अध्येताहरुले सुक्ष्म अध्ययन गर्न यहाँ आउन थालेका छन् । खासगरी उनीहरुले रिसोर्ट वरिपरी लगाएका जडिबुटी, केराका परिकार अनि यसको व्यवस्थापन नै यहाँ आउनेहरुको मुख्य चासो रहेको छ ।
अहिले चलाएको रिसोर्ट बुटवलको मुख्यबजारभन्दा थोरै ओझेलमा परेको क्षेत्र रोजेका छन् उनीहरुले । त्यो कारणले पनि यहाँको भविश्व बनाउन र यसरी ओझेलमा परेका क्षेत्रहरुलाई ब्राण्डिङ गर्न कुनै न कुनै नयाँ प्रकारको काम थाल्नुपर्ने उनीहरुको भनाइ छ ।
पर्यावरण क्षेत्रमा कलम चलाउने दलबहादुर गुरुङले अब हरेक क्षेत्रबाट वातावरणीय क्षेत्रलाई जोगाउनेगरी काम थाल्नसके विश्वमा नै बढ्दै गएको चुनौती कम हुनसक्ने बताउँदै इको बनाना रिसोर्टले जस्तै अब अरु पर्यटन व्यवसायीले पनि दीर्घकालीन योजना बनाएर जानुपर्ने बताउँछन् ।