कोशीका ९ सिमेन्ट उद्योग बन्द, अर्बाैंको लगानी जोखिममा – Nepal Press

कोशीका ९ सिमेन्ट उद्योग बन्द, अर्बाैंको लगानी जोखिममा

विराटनगर । कोशी प्रदेशमा रहेका अधिकांश सिमेन्ट उद्योग बन्द भएका छन् । प्रदेशमा रहेका १५ वटा सिमेन्ट उद्योग मध्ये ९ वटा सिमेन्ट उद्योग बन्द छन् ।

बाँकी रहेका उद्योगहरूले पनि क्षमताको आधा भन्दा कम सिमेन्ट उत्पादन गर्दा सिमेन्ट उद्योगमा भएको अरबौँ रुपैयाँ डुबेको छ । कोशी प्रदेशमा क्लिंकर किनेर सिमेन्ट उत्पादन गर्दै आएका १३ वटा सिमेन्ट उद्योग छन् ।

ती उद्योगमा मात्रै २० अर्बभन्दा बढी लगानी छ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग र निगाले सिमेन्टले भने आफै क्लिंकर उत्पादन गर्दै आएका छन् ।

ग्रान्डिङ गरी सिमेन्ट उत्पादन गर्ने १३ उद्योगमा उद्योग चल्दा तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको सिमेन्ट उत्पादक सङ्घले जनाएको छ । तर, पछिल्लो समय यहाँ सञ्चालित सिमेन्ट उद्योग धमाधम बन्द मजदुरको रोजगारी समेत गुमेको छ ।

सिमेन्ट उत्पादक सङ्घ कोशी प्रदेशका अनुसार उदयपुरमा एक, धनकुटामा एक, सुनसरीमा एक र मोरङमा चार वटा सिमेन्ट उद्योग खुलेका थिए । बाँकी उद्योग झापामा खुलेका थिए । सिमेन्ट उत्पादक सङ्घले चलिरहेका ६ उद्योगले पनि क्षमताको २० देखि ३० प्रतिशत मात्रै उत्पादन गरिरहेको जनाएको छ ।

उदयपुर सिमेन्ट उद्योग र निगाले सिमेन्ट उद्योग बाहेक अरू उद्योगले अरूबाट किङ्कर किनेर ग्रान्डिङ गरी उद्योग सञ्चालन गर्दै आएका थिए । यी उद्योगहरूले भारतबाट क्लिंकर ल्याउने भए पनि क्लिंकर महँगो भएका कारण ल्याएर सिमेन्ट उत्पादन गर्न नसकिएको सिमेन्ट उद्योगी सुरेश मित्तलले बताए । उनले महँगोमा क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गरी बेच्न नसकिने भएका कारण उद्योगीले सरकारसँग उद्योग बन्द गर्ने अनुमति माग्न थालेका बताए ।

सरकारले पुँजीगत खर्च गर्न नसक्नु, ठुला आयोजना निर्माण नहुनु, निर्माण व्यवसायीको भुक्तानी बक्यौता रहनु र भारतले नेपाली सिमेन्टमा रोक लगाउनुका कारण सिमेन्टको माग घटेको उद्योगीहरू बताउँछन्। यस्तै बैङ्कको ऋण र उच्च उत्पादन लागतका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै उद्योगीहरूले सरकारसँग रुग्ण घोषणा गरी बन्द गर्ने अनुमति मागेका छन्।

क्लिंकर उत्पादन गर्ने उदयपुर सिमेन्ट उद्योग बन्द छ । यस्तै धनकुटाको निगाले सिमेन्टले पनि क्षमताको एक तिहाइ पनि उत्पादन गर्न सकेको छैन । कहिले बन्द हुँदै त कहिले खुल्दै निगाले सिमेन्ट उद्योग सञ्चालनमा रहेको छ । सुनसरीको एक, मोरङका तीन र झापाका चार उद्योग डेढ वर्षदेखि बन्द छन् । मोरङको एउटा र झापाका पाँच वटा उद्योग भने २० देखि ३० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन् ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा र ठुला आयोजना निर्माण नगर्दा सिमेन्टको माग घटेको सङ्घका अध्यक्ष राजेन्द्र राउतले बताए । यस्तै सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम बक्यौता रहँदा समेत सिमेन्ट उद्योग धराशायी भएको राउतले बताए ।

उनले भने, भारतले नेपाली सिमेन्टलाई भारतीय गुणस्तर प्रमाणपत्र नलिएको भन्दै निर्यातमा रोक लगाएका कारण पनि सिमेन्ट उद्योग सङ्कटमा परेका छन् । नेपालमा आफ्नै क्लिङ्करबाट सिमेन्ट उत्पादन गर्ने २१ वटा उद्योग छन् । ती उद्योगले सिमेन्ट उद्योगको आवश्यकता धान्न नसक्ने राउतले बताए ।

उनले भने, ‘ग्रान्डिङ सिमेन्ट उद्योगलाई रुग्ण घोषणा गरी सरकारले बन्द गर्ने अनुमति दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *