एमाले र माओवादीलाई बिर्सिएर पार्टीभित्र शत्रु खोज्ने प्रवृत्तिले कांग्रेस चल्दैन: प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका नेता कार्यकर्तालाई पार्टीले गरेका काम जनताको बीचमा लैजान निर्देशन दिएका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघ नुवाकोटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले र माओवादीभन्दा पार्टीभित्र शत्रु खोज्ने प्रवृत्तिले पार्टी अगाडि बढ्न नसक्ने बताए ।
उनले भने, ‘हामीले आफूले गरेको काम जनताको बीचमा गएर भन्न बिर्सिनहुँदैन । हामी कहिलेकाहीँ आफैंभित्र पनि विपक्षी हुन्छौं । ठूलो पार्टी छ । नेताहरु धेरै भएपछि व्यवस्थापन गर्न गाह्रो हुन्छ । हामी विपक्षी पार्टी बिर्सिन्छौं, माओवादी, एमालेसहित अरुसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने बिर्सिन्छौं । हामी पार्टीभित्रै प्रतिस्पर्धा गर्नुपर्छ भन्नेमा सीमित हुन्छौं ।’
विपक्षीलाई बिर्सिएर पार्टीभित्र शत्रु खोज्न थालेपछि समस्या उत्पन्न हुने गरेको उनको भनाइ छ ।
उनले थपे, ‘हामीले प्रतिस्पर्धा विपक्षसँग नै गर्ने हो त्यसका लागि हामी एक हुनुपर्यो । हामी एक नभई विपक्षीसँग प्रतिस्पर्धा गरेर परिणाम आउँदैन । हाम्रो शक्ति एक नहुने अनि गठबन्धन पनि नगर्ने भनेपछि कसरी हुन्छ । त्यसैले पहिला पार्टी एकताबद्ध हुनुपर्यो ।’