प्रधानमन्त्रीको आलोचना गर्दै शेखरले भने- एमालेसँगको सहकार्य हाम्रो लागि तरबारको धारमा हिँडे जस्तै हो – Nepal Press

प्रधानमन्त्रीको आलोचना गर्दै शेखरले भने- एमालेसँगको सहकार्य हाम्रो लागि तरबारको धारमा हिँडे जस्तै हो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भए देश अराजकतातिर जानसक्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमकाे प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार सरकार चल्न नसकेको भन्दै आलोचना गरे ।

उनले भने, ‘एमालेसँगको सहकार्यपछि हामी तरबारको धारमा हिँडिरहेका छौं । जो साथीहरु मन्त्री भएर जानुभएको छ, उहाँहरुले सरकारसँग सहकार्य गरेर जाने, हामी बाहिर भएकाहरुले हाम्रो प्रतिस्पर्धी भनेको एमाले नै हो । जुनसुकै तहको निर्वाचन भए पनि त्यसैले प्रतिस्पर्धा पनि गर्न जरुरी छ । मन्त्रीहरुले सहकार्य नगरे सरकार चल्दैन, तर हाम्रो प्रतिद्वन्द्वी एमाले नै भएकाले प्रतिस्पर्धा गर्नुपर्छ ।’

उनले सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बताए । कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

नेता कोइरालालले भने, ‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोेष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन, अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो ।’

उनले सरकारको राजस्व बढाउन सबैलाई चिन्ता भए पनि प्रधानमन्त्रीलाई नभए जस्तो देखिएको बताए । उनले पार्टी विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याउने तयारी गरेको भए पनि आफूहरुको विरोधले रोकिएको सुनाए ।

उनले सहकारी प्रकरणमा मान्छे समात्नमा मात्रै सरकार केन्द्रित भएको भन्दै पीडितलाई राहत दिनतर्फ नलागेको आरोप लगाए । उनले सरकारकाे ध्यान नगएपछि पीडितहरु सडकमा धेरै निस्कन थालिसकेको सुनाए ।

नेता कोइरालाले थपे, ‘दुई तिहाइको शक्तिशाली सरकार छ, हामीले अझै टाइट गरेर अगाडि बढ्न सकेनौं भनेर अप्ठेरो स्थिति आउनसक्छ । त्यो कुरालाई हामीले मध्यनगर गरेर अघि बढ्नुपर्छ । यो सरकारलाई असफल हुने छुट पनि छैन ।’


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको आलोचना गर्दै शेखरले भने- एमालेसँगको सहकार्य हाम्रो लागि तरबारको धारमा हिँडे जस्तै हो

  1. एमाले फुटाउन २०% को प्रावधान सहितको अध्यादेश आउँदा यी मनुवा कुन दुलामा थिए ? अहिले दल सम्बन्धी ऐन नै छैन त्यहि अध्यादेशका कारण । लाज मान न अलिकति । काँग्रेस र माओवादी केन्द्रमा सहकार्य गरिरहदा कोशीमा एमालेसँग मिलेर मुख्यमन्त्री खुवाउन शेखर हिडेका थिए । कुन नैतिकता, सिद्वान्त अनुसार त्यो काम भएको थियो ? अरूलाई नैतिकताको पाठ सिकाउने ? काँग्रेसले त्यो घटनामा यिनलाई पार्टीबाट निकाल्नेसम्मको कारवाही गर्नुपर्ने । एमालेले भए त गर्थ्यो । आफूले पद नपाएपछि यिनले गरेका बरबराहट हुन् यी । विजुलीको पैसा नतिरेका होईनन उद्योगीले । त्यो बेला उपयोग गरेको विजुलीको पैसा तिरेका छन् । खालि लोडसेडिङको बेलामा निरन्तर विजुली दिएको सुविधा बापतको पैसा मागेका हुन् कुलमानले । त्यो पनि उद्योगीले वील देखाउ भनेका छन् । वील त दिनुपर्ला नि कुलमानले । कि कुलमानले भनेको रकम देउताको बोली हो ? वील नदिएको किन ? हामीले तिर्ने विजुलीको त हरेक महिना वील आउँछ त ।कि उद्योगीसँग लिन बाँकी भनिएको पैसाको वील नै हुदैन ? अनि एउटै उद्योगको अरबसम्म पनि पैसा तिर्न बाँकी भनिएको छ । हाम्रो त १० – २० हजार नतिर्ने वितिक्कै लाईन काटिन्छ । तिनीहरूको उहिल्यैदेखि किन लाईन काटेर नउठाएको ? किन ओलि सरकार आउने बितिक्कै लाईन काटेको ? यसबाट के देखिन्छ भने यसमा कुलमानले सिधै आफू माओवादी भएको प्रमाणित गरिरहेका छन् ? त्यसैले सम्भावना भएको नेताले यस्ता सस्ता कुरा गर्दै हिडेको सुहाएन । लाज मान अलिकति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर