पुरानो पल: त्यसको हलचल
कुरो ३३ वर्षअघिको हो । अर्थात २०४८ सालको कुरा रहेछ । सन्दर्भ २०४६ सालको जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछिको हो । पहिलो आमनिर्वाचनको प्रचारप्रसार चरमोत्कर्ष पुगेको बेला थियो । उतिबेला नेकपा एमालेको काभ्रे जिल्ला कमिटी सदस्य रहेर म मण्डन देउपुर क्षेत्रमा अहोरात्र सक्रिय थिएँ । त्यो चुनावमा नेकपा एमालेका वर्तमान अनुशासन आयोग अध्यक्ष केशव बडाल उम्मेदवार हुनुहुन्थ्यो । ब्यानर लेख्नु, भित्तेलेखन गर्नु, समर्थक र शुभेच्छुकले लगाउने कमिज वा बाहिरी गन्जीमा पार्टीको नाम, झन्डा, चुनाव चिन्ह, चुनावी नारा र घोषित कार्यक्रमको कुराहरु लेख्नु पनि मेरो एउटा प्रमुख काम थियो ।
मेरो यो कला देखेर आदरणीय दाइ धावा धोर्जे लामाका स्वर्गीय बुवा बाबुलाल लामाले भनेको सम्झन्छु, ‘याङ्ला सर खाइपा मुला । हाम्रो सर त ‘खाइपा’ पनि हो रैछ’ (कलाकारलाई तामाङ भाषामा खाइपा भनिन्छ) । तिनताक म देउपुर नयाँ गाउँका पूर्वप्रधान पञ्च धावा धोर्जे लामा दाइको घरमा बस्थें । र, धावा दाइका छोराछोरीलाई आवासीय शिक्षण पनि गर्थें । धावा दाइ तत्कालीन नेकपा मालेको नीतिअनुसार जनपक्षीय प्रधान पञ्चको उम्मेदवार भएर जित्नुभएको थियो ।
भित्तेलेखनकै क्रममा देउपुर नयाँ गाउँको भवनमा अवस्थित गुम्बामा पनि मैले लेखेको थिएँ । यो गाउँ-टोल बसोबासको हिसाबले तामाङहरुमात्र बस्ने बस्ती हो । जसलाई भवन भनिन्थ्यो र अहिले पनि भवन नै भनिन्छ । त्यो भवनको आडैमा सन्तबहादुर ब्लोन दाइको चिया र किराना पसल थियो । म कतैबाट आइरहेको थिएँ । भवनको गुम्बामा मैले धेरै समय र मेहनत खर्चेर लेखेको नारा, चुनाव चिन्ह र झन्डा गोबरले पोतेर छोपेको देखें । स्वाभाविक हो, मेरो रिसले सगरमाथाको टाकुरामै टेक्यो । रिस उठेपछि न वेद पढिन्छ, न राम्रो नराम्रो सोचिन्छ न त आफ्नो आवरण ढाक्नेगरी बस्नै सकिन्छ । गुम्बा आडैको चिया पसलमा मैले सन्तबहादुर ब्लोन दाइलाई सोधें, ‘दाइ भवनको भित्तामा लेखेको कसले मेट्यो ?’
आफ्नै नाताभित्र पनि विवाह, वर्तमन, मरु-परु, अरम-परम र पसलसम्म दलीय प्रतिबद्धताको आधारमा छुट्ट्याइएको थियो । कतिसम्म भने प्रौढ शिक्षा, दुग्ध संकलन केन्द्र, चिया पसल, किराना पसल, गाउँ-टोलमा हुने धार्मिक अनुष्ठान र भजन, सामाजिक सम्बन्धलाई स्वीकारोक्ति र बहिष्करण जस्तो भड्खालोमा राजनीतिक दलहरुले नेपालीलाई हालेका थिए ।
मैले दाइलाई सोधिरहँदा मेरो प्रश्न गराइमै आक्रोशको मात्रा अत्यन्त धेरै थियो । सन्तबहादुर ब्लोन दाइले भन्नुभयो, ‘सानु पाल्साङ लामा र पूर्णबहादुर तामाङले मेटेका हुन् ।’ अरु थप कुरा नगरी म उनीहरुलाई खोज्न हिँडें । जे पर्छ पर्छ, परेको व्यहोरौंला, तर छिनोफानो गर्नैपर्छ भनेर सानु पाल्साङ लामा र पूर्णबहादुर तामाङसँग दुवादस गर्ने विचारले हिँडें । तिनताक यदि म खसी थिएँ भने मलाई काटकुट गरेर बेच्दा ५४-५५ किलोको हुन्थें होला । अर्थात म दुब्लो, पातलो औ ख्याउटे थिएँ, तर शारीरिक हिसाबले ठूलो दारको थिएँ । र, थिएँ २२ वर्षे युवा, तर मेरो आँट र साहसले पृथ्वी एक पटक पल्टाउन सक्छु जस्तो लाग्थ्यो ।
अघिपछि कहिल्यै नरिसाउने यो अकिंचनलाई रिसको घोडामा सवार भएको सन्तबहादुर ब्लोन दाइले पनि देख्नुभएको थियो । अब साँच्चासाँच्ची पर्छ भन्ने आँकलन सन्त दाइले पनि गर्नुभएको थियो होला । त्यसैले सन्त दाइले आफ्नो चिया पसलमा राखेको दापसहितको खुकुरी कम्मरमा भिरेर मलाई पछ्याउनु भएको रहेछ, तर त्यतिबेला मलाई थाहा थिएन ।
धावा दाइको घरभन्दा चार घर पूर्वपट्टि गौंडामा रहेको पूर्णबहादुर तामाङको घरछेउको अर्को घरको भित्तामा सानु पाल्साङ लामा र पूर्णबहादुर लामा नेपाली कांग्रेस पार्टीको भित्तेलेखन गर्दै रहेछन् । रिसले राँकिएर हिँडेको मसँग उनीहरुको जम्काभेट भयो । आक्रोश, आवेग र असन्तुष्ट मैले उनीहरुलाइ भेट्नेबित्तिकै सोधें, ‘भवनको भित्तामा मैले गरेको भित्तेलेखन किन गोबरले लिपेर छोपेको ?’ सानु पाल्साङ लामाले अझ उल्टो प्रतिप्रश्न पो गरे, ‘त्यो सार्वजनिक ठाउँमा किन भित्तेलेखन गरेको ?’ मेरो जवाफ थियो,’भवन सार्वजनिक स्थल हो । त्यसमा भित्तेलेखन गर्न कसैको अनुमति लिइरहनु पर्दैन ।’ ठूलो भुल सानो पाल्साङ लामा र पूर्णबहादुर तामाङकै थियो ।
नेपाली समाजको त्यो काल चरम आग्रह, अति पूर्वाग्रह र अत्यन्तै संकीर्णताले ग्रस्त थियो । हुन त अहिले पनि नेपाली समाजलाई रौं चिरा बनाउन र तीव्र ध्रुवीकरण बढाउन राजनीतिक दलका नेताहरुले आगोमा घिउ थपे झैं थपिरहेका छन् । किनभने तीव्र राजनीतिक ध्रुवीकरणमा उनीहरुको स्वार्थी रोटी सेक्दामात्रै नेताहरु मुनाफामा हुन्छन् । भनिरहनै नपर्ला, त्यतिबेला त्यसो हुनुमा बन्द नेपाली समाजमा भर्खरै आएको बहुदलीय व्यवस्था, खुलापन अपनाउन अभ्यस्त हुन खोजेको समाज, नवीन स्वतन्त्रताको उपभोग, राजनीतिक दलहरुमा लाग्ने उपक्रम र तीव्र रुपमा बढ्दो राजनीतिक ध्रुवीकरण नै प्रमुख कारणहरु थिए ।
सानु पाल्साङ लामालाई त्यो गाउँमा मेरो उपस्थिति नै विल्कुलै मन परेको थिएन । उनी नेपाली कांग्रेस पार्टीको कार्यकर्ता भएको हुनाले मैले मण्डन देउपुर भेगमा नेकपा एमालेको सघन संगठन विस्तार गरेको उनलाई असह्य भएको थियो । हो ! त्यही कारण उनको मनमा मप्रति आरिस, आवेग र घृणा भरिएको थियो ।
आफ्नै नाताभित्र पनि विवाह, वर्तमन, मरु-परु, अरम-परम र पसलसम्म दलीय प्रतिबद्धताको आधारमा छुट्ट्याइएको थियो । कतिसम्म भने प्रौढ शिक्षा, दुग्ध संकलन केन्द्र, चिया पसल, किराना पसल, गाउँ-टोलमा हुने धार्मिक अनुष्ठान र भजन, सामाजिक सम्बन्धलाई स्वीकारोक्ति र बहिष्करण जस्तो भड्खालोमा राजनीतिक दलहरुले नेपालीलाई हालेका थिए ।
हो ! ठ्याक्कै त्यस्तै विम्ब हुनुपर्छ, मैले व्यहोरेको घटना पनि । अब भनाभैरी सुरु भयो । सानु पाल्साङ लामाले मलाई भने,’तँ गाउँमा ढिडो खान नपाएर यहाँ आएको होस् ।’ मैरो प्रत्युत्तर थियो, ‘म रहरले कहिलेकाहीँ ढेंडो खाने परिवारबाट आएको मान्छे हुँ । तिमीलाई मेरो घर लगेर वर्षौंवर्ष चामलको भात खुवाएर पाल्नसक्छु ।’ त्यसपछि मैले थपें, ‘यो अहिलेको प्रजातन्त्र अरुले झैं मैले पनि ज्यान जोखिममा राखेर ल्याएको हो ।’ सानु पाल्साङ लामालाई त्यो गाउँमा मेरो उपस्थिति नै विल्कुलै मन परेको थिएन । उनी नेपाली कांग्रेस पार्टीको कार्यकर्ता भएको हुनाले मैले मण्डन देउपुर भेगमा नेकपा एमालेको सघन संगठन विस्तार गरेको उनलाई असह्य भएको थियो । हो ! त्यही कारण उनको मनमा मप्रति आरिस, आवेग र घृणा भरिएको थियो । फलतः चरम संकीर्णता सानु पाल्साङ लामाले मसँग गरेको व्यवहारमा निस्रित भएको थियो ।
पूर्णबहादुर तामाङ र सानु पाल्साङ लामाले मलाई हात हालेर दच्काउने प्रयास गर्न खोजेका थिए । मैले भनें,’छोएर त हेर, त्यसपछि के हुन्छ ?’ निडरतापूर्वक मैले भनेको कुराले उनीहरुले मलाई हात हाल्ने आँट गरेनन् । त्यसमाथि सन्तबहादुर ब्लोन दाइले पनि आक्रोशमा भन्नुभयो,’खबरदार ! हात चाहिँ नहाल । तिमीहरुले निउँ नै खोजेको हो भने मैलै पनि खुकुरी झिकें । हात हाल्यो भने काटाकाट हुन्छ । विचार गर ।’ सन्त दाइको कुराले उनीहरु झनै हच्के । सम्झनाहरु हो । सम्झन्छु । र, भावविह्वल हुन्छु ।
तिनताक अहिलेको नेकपा माओवादी केन्द्रमा सम्बद्ध दुई जना कार्यकर्ता मन्डन भेगमा लागिपर्नु भएको थियो । तिनमा चैनपुर अवस्थित महाकाली माध्यमिक विद्यालयका गणित शिक्षक एवं मेरो साथी कृष्णबहादुर विष्ट (रसकमल) हुनुहुन्थ्यो । अर्को हुनुहुन्थ्यो यानप्रसाद गौतम (आलोक) । काभ्रे पोखरी चौंरीको यानप्रसाद गौतम बेलाबखत देउपुर नयाँ गाउँ आइरहनु हुन्थ्यो । त्यसबखत नयाँ गाउँ भवन आसपास बस्नुहुने रुद्रबहादुर तामाङ, माइतेसिंग लामा, बहादुर तामाङ र अन्य दुई जना तत्कालीन मशाल सम्बद्ध हुनुहुन्थ्यो । रुद्रबहादुर तामाङ र माइतेसिंग लामालाई मैले अथक मेहनत गरेर एमाले पार्टीमा भित्र्याएँ । अहिले माइतेसिंह लामा मण्डन देउपुर नगरपालिकाको वडा अध्यक्ष हुनुहुन्छ । रुद्रबहादुर तामाङ एमालेको सक्रिय कार्यकर्ता हुनुहुन्छ । दुवै जनालाई एमालेमा भित्र्याएपछि साथी कृष्णबहादुर विष्ट मसँग रिसाउनु भएको थियो । एक पटक विष्टजीले मसँग गुनासो गर्नुभयो । र, भन्नुभयो, ‘हाम्रै मान्छे किन चोरेको ?’ म जवाफमा फिस्स हाँसें । अनि… ।
कथित जनयुद्धको परिणामले होनहार १७ हजार नेपालीले सित्तैमा ज्यान गुमाउनुपर्यो । त्यो गलत विचार र बाटोले एकातिर हजारौं नेपाली मारिए । अर्कोतिर नेपालको खर्बौंखर्ब सम्पत्ति स्वाहा भयो । अन्ततः सबै नेपालीलाई पहाड छोड्ने संस्कृति बसाउन मलजल गर्यो ।
२०४७ सालमा नेपाल अधिराज्यको संविधान घोषणा भएको केवल पाँच वर्षपछि जबरजस्ती थोपरिएको कथित जनयुद्धसँग म कहिल्यै सहमत हुन सकिनँ । हो ! त्यही गलत जनयुद्धले मैले चिनेका होनहार, असल र इमानदार शिक्षक कृष्णबहादुर विष्ट (रसकमल), पोखरीचौंरीका यानप्रसाद गौतम (आलोक) र नयाँ गाउँका बहादुर तामाङलगायत अन्य दुईले सित्तैमा ज्यान गुमाउनु पर्यो । उफ ! कथित जनयुद्धको परिणामले होनहार १७ हजार नेपालीले सित्तैमा ज्यान गुमाउनुपर्यो । त्यो गलत विचार र बाटोले एकातिर हजारौं नेपाली मारिए । अर्कोतिर नेपालको खर्बौंखर्ब सम्पत्ति स्वाहा भयो । अन्ततः सबै नेपालीलाई पहाड छोड्ने संस्कृति बसाउन मलजल गर्यो । जेसुकै भनियोस्, त्यो जनयुद्ध (वास्तवमा धनयुद्ध)ले नेपाललाई बर्बाद बनायो । के गर्नु ? ती साथीहरु गुमाएको पीडामा छट्पटिनुबाहेक म के नै गर्न सक्छु र ! एहे ! बरालिएको क्या हो । मूल कुरामै फर्कौं ।
धन्न ! त्यो दिन धावा धोर्जे लामा दाइ गाउँमा हुनुहुन्नथ्यो । दाइ कुनै काम विशेषले छिमेकी गाउँ नाल्दुम जानुभएको थियो । यदि धावा दाइ गाउँमै भएको भए एकापसमा काटाकाट हुन सक्थ्यो । र, कसैको मृत्यु पनि हुनसक्थ्यो, तर सानु पाल्साङ लामा र पूर्णबहादुर लामासँग पंधेरोमा महिला बाझे झैं (महिलाद्वेषी भएको होइन । गाउँतिर भनिने कुरा लेखेको । माफ पाउँ) बाझाबाझ गरेर टुङ्गियो, तर यो कुरा भेगभरि आगो फैलिए झैं फैलियो । म एक्लै रातविरात कहिले कुन डाँडा, कहिले कुन बस्ती पुगेको हुन्थें । त्यो घटनाअघि सुरक्षा चुनौती महसुस गरेको थिइनँ । त्यसपछि आफ्नो सुरक्षाको लागि कटबाँसको लठ्ठी लिएर हिँड्न थालें ।
तत्कालीन नेकपा मालेले खटाएर २०४६ साल माघ १८ गते देउपुर नयाँ गाउँ पुगेको थिएँ । २०४८ साल माघमै मैले देउपुर नयाँ गाउँ सदाको लागि छाडें, तर त्यस अवधिका प्रत्येक पल, पला, प्रहर, पर्व र परिस्थितिमा मैले पार्टी संगठन बनाउन आफूलाई लगाएको थिएँ । आफूले अथकनीय प्रयास गरेर संगठन विस्तार गरेकोमा मलाई अहिले पनि गर्व लाग्छ । जीवन सिकाइको समष्टि त हो नि, तर त्यो घटना सम्झँदा अहिले पनि कस्तो कस्तो लाग्छ ? आखिरी गर्व, गरिमा, गराई, सुख, दुःख, रमाइलो, नरमाइलो, आशा र निराशाको समष्टि त रहेछ नि जीवन !