महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटर र चालक नेपालीकाे नियन्त्रणमा – Nepal Press

महाकालीको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटर र चालक नेपालीकाे नियन्त्रणमा

दार्चुला । नेपाल-भारत सीमा नदी महाकालीको नेपालतर्फको धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

दार्चुला सदरमुकाम नजिक महाकाली नगरपालिका- ५ स्थित वीरेन्द्र वन नजिक धार परिवर्तन गर्दै गरेको भारतीय एस्क्याभेटरका चालकलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

आइतबार बिहान साढे ११ बजे अनुमतिविना भारतीय ठेकेदार कम्पनीको एस्क्याभेटर महाकाली नदी तरेर नेपालतर्फ आएको थियो ।

स्थानीयले मेसिनसहित चालकलाई नियन्त्रणमा लिएपछि अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् । स्थानीय र सुरक्षा अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले घटना सम्बन्धमा सोधपुछ भइरहेको बताए ।

‘हामी अहिले फिल्डमा छौं । सोधपुछ गरिरहेका छौं’, उनले भने, ‘किन र के कारणले वारि आएको भन्ने कुरा सोधपुछ गरेपछिमात्रै सबै जानकारी आउँछ ।’

महाकाली नगरपालिका दार्चुला मेयर नरसिंह चैसिरले भारतले महाकाली पारि तटबन्ध गरिरहेको हुँदा पानीको धार परिवर्तन गर्न नेपालतर्फ एस्क्याभेटर ल्याएको हुनसक्ने बताए ।

विनासमन्वय नेपालतर्फ भारतीय स्क्याभेटर ल्याउने कुरा गलत रहेको उनले बताए ।

यसअघिको छलफलमा दुई देशले एक-अर्कालाई असर नगर्ने गरी निर्माण गर्ने समझदारी भएको भन्दै उनले समझदारीविपरीत नेपालतर्फ एस्क्याभेटर ल्याएको बताए ।

‘नेपाल-भारतका अधिकारीहरूबीचको छलफलले निर्माण नरोक्ने, तर असर नगर्ने गरी काम गर्ने समझदारी भएको हो’, मेयर चैसिरले भने, ‘पारिपट्टि नदी नियन्त्रणको काम भइरहेको छ । त्यहाँनिर पानी भारततर्फ बग्छ । धार परिवर्तन गर्न स्क्याभेटर आएको हुनसक्छ। म थप बुझ्दैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *