साढे १४ करोडको लागतमा नुवाकोटमा दुईवटा पुल बन्दै
काठमाडौं । नुवाकोटमा करिब साढे १४ कारोडको लागतमा २ वटा मोटोरेवल पुल बन्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले नुवाकोटमा दुईवटा पुलको शिल्यानास गरेका छन् ।
नुवाकोटको बेलकोटगढी, लिँखु र ककनी गाँउपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिल्यानास भएको हो ।
पूर्वाधार विकास कार्यालय नुवाकोटद्धारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ साल असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको छ । भने यसको लागत ५ करोड ८६ लाख २३ हजार ८ सय रहेको छ । सो पुलको लम्बाइ २५.६ मिटर र ८.४ मिटर चौडाई रहने छ ।
८ करोड ४६ लाख ६२ हजारमा सुपारी खोल्ची बेलकोट गढी मोटोरेवल पुल निर्माण हुने भएको छ । सो पुल २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।
पुल उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हव रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिइएको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासंगको समन्वयमा आवश्यकता र औचीत्यता अनुरुप बजेट विनियोजन भइ विभिन्न पूर्वाधारको काम भैरहेको बताए ।