वैदेशिक व्यापार : ६ खर्बको आयात हुँदा ७३ अर्ब मात्रै निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा ७ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि मंसिरसम्मको अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको ४.२१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, चालू आवको पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १६.५४ प्रतिशत बढी हो । त्यसबेला ६३ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
यस अवधिमा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ५ खर्ब ७९ अर्ब बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।