विवेकको शवअघि पिताको रोदन – Nepal Press

विवेकको शवअघि पिताको रोदन

काठमाडौं । अमेरिकामा क्यान्सर रोगले निधन भएका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम दाहसंस्कार गरिएको छ । चौंथो स्टेजको ब्रेन क्यान्सरसँग लडिरहेका उनी गत साता अस्ताएका थिए ।

डिसेम्बर १७ तारिख, बिहान ५ बजे न्यूयोर्कस्थित ‘मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर’ मा पंगेनीको निधन भएको हो । केही वर्ष अगाडि अमेरिकाको जर्जिया राज्यमा पीएचडी गर्न गएका बर्दिया निवासी पंगेनीको नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसिमा दाहसंस्कार गरियो । दाहसंस्कार अघि श्रद्धाञ्जली कार्यक्रममा परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थित भए ।

कार्यक्रममा परिवारजनबाट विवेकका बुवा र उनकी बुहारी सिर्जना थिए । पतिको शव सामु घोप्टिएर भक्कानिएकी थिइन् सिर्जना । उनलाई सबैले सान्त्वना र हौसला दिए ।

छोराको अन्तिम अवस्था भएको खबर आएपछि बुवा मिनराज अमेरिका गएका मिनराजले नेपाली समूदायसामु आफ्नो वेदना पोखे । छोराको शव अगाडि विक्षिप्त मुद्रामा मुस्किलले सम्हालिँदै उनले कथा सुनाए । उनी बोलिरहँदा उपस्थित सबैका आँखाहरु भिजेका थिए ।

मिनराजले सुनाएको विवेकको कथा उनकै शब्दमाः

विवेकले २०४८ साल, भदौ ५ गते बर्दियामा मेरो श्रीमती निर्मला पंगेनीको कोखबाट जन्म लिएको हो । सानैदेखि सरकारी स्कुलमा पढेतापनि विवेक पढ्नमा निकै नै तेज थियो । एसएलसीपछि उच्च शिक्षा पढाउन मैले उसलाई नेपालगञ्जको जयबागेश्वरीमा भर्ना गराए । त्यहाँको पढाइ पनि सकिएपछि मैले बीएस्सी पढाउन काठमाडौँ पठाएँ । उनले त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययन गर्यो ।

विवेकको आमा अर्थात मेरी श्रीमती पार्किन्सन्सको रोगले २०६८ सालदेखि ग्रसित थिइन् । मैले उनको हेरचाह र मेरा छोराहरुको पढाइमा लामो समयदेखि आफ्नो समय खर्चेको छु । छोराहरुको पढाइ राम्रो थियो । त्रिचन्द्रबाट बीएस्सी पास गरेपछि आमाको पिडाले गर्दा विवेक दुई वर्ष घरमै बस्यो । मैले उसलाई मास्टर्स पढ छोरा भनेपछि काठमाडौं फर्किएर त्रिभुवन युनिभर्सिटीमा भर्ना भयो । पढाईलाई कुशलतापुर्वक पार गर्दै उसले फिजिक्समा मास्टर्स सकायो ।

त्यतिबेलासम्म उसले अब पीएचडी गर्छु भनेर आफ्नो लक्ष्य निर्धारण गरिसकेको थियो । पढाइको क्रममा उसको सिर्जनासँग माया बसेको रहेछ । मैले उनीहरुको रोजाइलाई सम्मान गर्दै धुमधामसँग विवाह गरिदिएँ । मैले अत्यन्तै कुशल, दयाको सागर र सबै कुरामा क्षमतावान सिर्जना सुवेदी मेरो बुहारीको रुपमा पाएँ । त्यसमा म आफुलाई अत्यन्तै गौरवशाली ठान्थेँ ।

विवेक पढ्न अमेरिका जान चाहन्थ्यो । उसले पीएचडीको लागी अमेरिका अप्लाई गर्यो । फुल स्कलरसिप पाएपछि पि.एच.डी गर्न विवेक र डिपेन्डेन्टमा सिर्जना अमेरिका आए ।

विवेक अमेरिका आएको पाँच महिनामै उसको आमाको मृत्यु भयो । आमाको काजक्रियाको लागि विवेक नेपाल फर्कियो । आमाको काम सकिएपछि उसले मलाई ‘बुवा तपाईंको स्वास्थ्य परिक्षण गर्नुपर्यो’ भनेर भन्यो । मैले आफूलाई केही नभएको र बेलाबेला चेकअप गराइरहेको बताएँ । तर पनि उसले मानेन । आफ्नै आँखाअगाडि जाँच गर्नुपर्छ भनेर मलाई छोरा र बुहारी सिर्जनाले काठमाडौं ल्याएर हामी ग्राण्डी अपताल आयौं । चेकअप गरेपछि मेरो स्वास्थ्य ठिकै देखियो । सिर्जनाको आँखाको समस्या थियो । उनको पनि आँखा जाँच गरायौं ।

विवेकले जहिल्यै ‘बाबा मेरो दाहिने साइड दुख्छ, कान गुम्म हुन्छ अनि चक्कर लाग्छ’ भनिरहन्थ्यो । मैले उसलाई भनेँ– मेरो मात्र जाँच गरेर हुँदैन, तेरो पनि गर । अनि आफैले कानको डाक्टरकहाँ लगेँ । चेक गर्दा डाक्टरले कानको एमआरआइ गराउन भने ।

एमआरआइ गर्न डाक्टरले निकै लामो समय लगाए । दुई घण्टा भन्दा बढी समय लागेपछि हामीलाई यो कस्तो खालको एमआरआइ हो भनेर निकै खुल्दुली लाग्यो । दिउँसोको दुई बजिसकेको थियो, हामीले खाना पनि खाएका थिएनौं । एमआरआइ सकेर बाहिर आएपछि विवेकले हामीलाई तपाईंहरु खाना खानु, म पछि खान्छु भन्यो । मैले ‘हैन, पहिले तिमी र सिर्जना खाउ, बरु म पछि खान्छु’ भनेँ । तर उसले मान्दै मानेन ।

त्यतिखेरसम्म उसलाई आफ्नो रोगबारे थाहा भइसकेको रहेछ । बुवा र सिर्जनाले थाहा पाए भने खाना खाँदैनन् भन्ने उसलाई लागेको रहेछ ।
त्यसपछि म र सिर्जना त्यहीँ अस्पतालको अगाडी गएर खाना खायौं । उसले म रिपोर्ट लिएर आएर खाना खान्छु भनेको थियो । रिपोर्ट लिएर आउँदा उ रोइरहेको थियो । थाहा पाएपछि हामी पनि धेरै रोयौं ।

उसको भोलिपल्ट साढे १० बजे अमेरिका फर्किने फ्लाइट थियो । हामी सबै बसेर सल्लाह गर्न थाल्यौं । सबैले उपचारका लागि यहाँ बस्नभन्दा अमेरिका नै जान सल्लाह दिनुभयो । बिपी मेमोरियल भरतपुर अस्पतालमा मेरो भान्जा हुनुहुन्छ निर्मल लामिछाने, जो डाक्टर पनि हो, हामीले उहाँसँग पनि सल्लाह लियौं । उहाँले पनि नेपालभन्दा अमेरिका निकै राम्रो विकल्प हो भनेपछि मैले सिर्जनासँग सल्लाह गरेँ ।

हामी त अमेरिका जान सक्दैन थियौ, त्यसैले तिमी के गर्छौ भनेर सिर्जनालाई सोधेँ । उसले ‘ठिकै छ बाबा, हामी गर्छौं, स्कलरसीप पनि छ, इन्सुरेन्स पनि छ, त्यसैले उहीँ गएर उपचार गर्छौं’ भनिन् ।

भोलिपल्ट रोएर उनीहरुलाई बिदा गरियो । गत वर्ष जर्जिया हुँदा म ६ महिना बसेर गएँ । उसको उपचार चलिरहेको थियो । त्यतिबेलादेखि, आजभन्दा एक महिना अगाडि न्युयोर्क आउने बेलासम्म मेरो छोरालाई ठिक हुन्छ भन्ने महसुस गरिरहेको थिएँ ।

पछिल्लो चरणमा भने १०, १२ दिन अगाडिबाट छोराको बोलीचाली बन्द भयो । अनि सिर्जनाको हौसलामा पनि निकै कमी आएको देखेँ । हेर्दै खिन्न लागेको थियो । आज यस्तो भयो (भक्कानिँदै)।

साँच्चै भन्ने हो भने नेपालमा कति मान्छेहरु ‘ला.. त्यहाँ गएन भने के भन्लान्’ भनेर बाध्यताले मलामी आउँछन् । तर यहाँ सबैजना एकदमै सद्भावले, अत्यन्तै हार्दिकता र सकारात्मक सोचका साथ यो श्रद्धाञ्जलीमा सहभागी भइदिनुभएको छ । यो श्रद्धाञ्जलीमा हजुरहरुको माया, प्रेम अनि यो सद्भाव अत्यन्तै अविस्मरणीय छ ।


प्रतिक्रिया

2 thoughts on “विवेकको शवअघि पिताको रोदन

  1. कुनै पनि मानवलाइ यो पिडामा धैर्य गर्न गाह्रो हुन्छ। संसारमा कुनै पनि बाबुले छोराको किरिया गर्ने दिन नआओस । भाबिको खेल, देबको लिला टारेर नटारिने। शोक सन्तप्त परिवारमा धैयाधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। मृत आत्माको चिरशान्तीको कामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *