रामग्राममा अनलाइनबाटै राजश्व भुक्तानी – Nepal Press

रामग्राममा अनलाइनबाटै राजश्व भुक्तानी

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अनलाइनबाटै राजश्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै रामग्रामले सूत्र सफ्टवेयर र मोबाइल एप्लिकेशनमार्फत राजश्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए ।

लामो समयदेखि नगरपालिकाका विभिन्न वडा तथा राजश्व काउन्टरहरूबाट नगदै राजश्व संकलन हुँदै आएकोमा अब नगरबासीको सहजताको लागि अनलाइन मार्फत घरमै बसेर सबै प्रकारका कर तथा दस्तुर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको नगर प्रमुख यादवले बताए ।

जसका लागि नगरबासीले सूत्र सफ्टवेयरको अनलाइन पोर्टल sutrarevenue.fcgo.gov.np/sutra.fcgo.gov.np तथा मोबा०लमा लोकल लेभल रेभिन्यु (local level revenue application) एप डाउनलोड गरेर पनि राजश्व भुक्तानी गर्न सकिने छ ।

‘प्रविधिको विकाससँगै यो कुराले सेवाग्राहीको समय पनि बचत हुने,कार्यालयमा भिडभाड पनि कम हुने हुन्छ,हामीले सेवाग्राहीको सहजताका लागि कार्यालयलाई प्रविधिमैत्री बनाउनु पर्छ भन्ने कुरामा पनि जोड दिएका छौ, प्रविधिले सेवालाई सरलीकरण गर्छ’, नगरप्रमुख यादवले भने।

पस १ गतेबाट उक्त सेवा परीक्षणको रूपमा सुरुवात गरिएकाले केही प्राविधिक समस्या देखिएमा क्रमशः समाधान गर्दे जाने नगरपालिकाका लेखा अधिकृत सञ्जय शर्माले जानकारी दिए । सम्पत्ति तथा भूमि, व्यवसाय र घरबाहल, आय ठेक्का, विभिन्न सिफारिस दस्तुर लगायतका कर तथा दस्तुर सहज रूपमा अनलाइन मार्फत भुक्तानी गर्न सकिने छ ।

अब राजश्व भुक्तानी गर्न नगरपालिका वा वडा कार्यालयमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको शर्माले बताए । डाटा माइग्रेट गरेर सेवा सुरु गरिएकाले केही प्राविधिक समस्या देखिएमा क्रमशः समाधान गर्दे जाने उनले बताए । यो सेवाले नगरवासीलाई निकै सहज हुने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *