जिल्ला भ्रमण गरेपछि कांग्रेस नेतृ डिला संग्रौलाको निष्कर्ष : रुकुम-रोल्पामा अहिले पनि माओवादीले सताएका छन् (भिडिओ)
भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्छ, सरकारका कामबाट जनता सन्तुष्ट छैनन्
रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले रुकुम-रोल्पालगायतका माओवादी बलियो भएका क्षेत्रहरूमा अहिले पनि सर्वसाधारणलाई त्रास नहटेको बताएकी छन् ।
जिल्ला भ्रमणका क्रममा लुम्बिनी तथा गण्डकीका विभिन्न जिल्लाहरूमा पुग्दा माओवादी बलियो भएका क्षेत्रमा अन्य पार्टीमा आस्थावान् तथा सर्वसाधारणलाई ठूलो त्रासमा राखिएको उनले बताइन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेतृ संग्रौलाले भनिन्, ‘म रुकुम रोल्पासहित लुम्बिनी प्रदेश र गण्डकीका विभिन्न जिल्लामा घुमेर आएको छु, जहाँ माओवादीको बलियो क्षेत्र छ, जहाँ स्थानीय तह उनीहरूले जितेका छन् त्यहाँका सर्वसाधारण र अन्य पार्टीमा आस्थावानहरुको अवस्था निकै चुनौतीपूर्ण छ, उनीहरूले जे भन्यो त्यो मान्नुपर्ने अवस्था छ, यस्तो त्रासदीपूर्ण अवस्थामा कसरी हाम्रा साथीहरूले काम गर्न सक्छन् ? कसरी उनीहरूको ज्यादतीविरुद्ध बोल्न सक्छन् ?’
नेतृ संग्रौलाले अहिलेको सरकारका कामबाट पनि जनता सन्तुष्ट नभएको आफूले पाएको टिप्पणी गरेकी छन् ।
‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सरकारले सकेको छैन, जनता धेरै असन्तुष्ट छन्, केन्द्रमा कांग्रेस एमालेका नेताहरूले भनेजस्तो जिल्लाको अवस्था छैन’ उनले भनिन् ।
कांग्रेसले सञ्चालन गरेको १ सय दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको पाएको बताइन् । कांग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुत बनाउन, जनतासँग नेताहरू पुगेर समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिई क्रियाशील सदस्यता वितरण पनि अगाडि बढाएको नेतृ संग्रौलाले बताइन् ।
क्रियाशील सदस्य वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै कांग्रेसको महाधिवेशन समयमै हुने कुरामा विश्वस्त भएको उनले बताइन् ।
‘वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि कांग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेका हुन्’ संग्रौलाले भनिन्, ‘संविधान संशोधनमा निर्वाचन प्रणाली हितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको छ, कार्यदलले यसलाई पूरा गर्ने छ ।’
वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरूलाई, भ्रष्ट्राचार गर्नेलाई कारबाही गर्ने, जोकोही भए पनि कसैलाई छोड्न नहुने उनको सुझाव थियो । पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन् ।
यो सरकार २०८४ सालसम्म नै एमालेसँगको सहकार्यमा सञ्चालन हुने भएकाले सहमतिअनुसार नै चुनावी सरकारको नेतृत्व काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताउँदै माओवादीले जनतालाई पटक–पटक धोका दिएकाले माओवादीसँग सहकार्य नहुने स्पष्ट पारिन् ।
संविधान संशोधनमा महिलाको अधिकार प्राप्तिका लागि प्रत्यक्षतर्फ ४० प्रतिशत उम्मेदवार बन्न पाउने गरी र महिलाको अधिकारका लागि लडिरहने बताएकी संग्रौलाले कांग्रेसको पदाधिकारीमा पनि ३३ प्रतिशत महिलाले नेतृत्व गर्न पाउनुपर्नेमा जोड दिइन् ।