पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहने जानकारी दिए ।
उनले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरे ।
उनले मौसम बुधबारसम्म बदलिरहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए ।